मकवानपुर: आर्थिक वर्ष २०८१/०८२ मा सम्पादित स्वास्थ्य सेवासम्बन्धी कार्यक्रमहरूको मकवानपुर जिल्लास्तरीय वार्षिक समीक्षामा बागमती गाउँपालिका पुनः जिल्लामा प्रथम भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरद्वारा आयोजित समीक्षामा स्थानीय तहहरूको मुख्य स्वास्थ्य सूचकहरू र अन्य कार्यसम्पादनका आधारमा गरिएको मूल्याङ्कनमा बागमती गाउँपालिकाले प्रथम भएको हो।

बागमती गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख प्रमुख दिनेश गुप्ताका अनुसार बागमतीले ८२.३० अंक प्राप्त गर्दै मकवानपुरका दशवटा स्थानीय तहमध्ये उत्कृष्ट भएको हो। बागमती गत आर्थिक वर्षमा पनि जिल्ला प्रथम भएको थियो। मकवानपुरको थाहा नगरपालिका दोस्रो र मकवानपुरगढी गाउँपालिका तृतीय भएको छ।
यो उपलब्धिले गाउँपालिकाका जनप्रतिनिधि, प्रशासन तथा स्वास्थ्यकर्मीहरूलाई अझ जिम्मेवार र प्रेरित बनाएको स्वास्थ्य शाखा प्रमुख गुप्ताको भनाई छ। गाउँपालिकाको स्वास्थ्य शाखा तथा मातहतका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूको निरन्तर सेवा र समर्पणकै परिणामस्वरूप यो सम्मान प्राप्त भएको पनि उहाँले बताउनुभयो ।

























