मकवानपुर: शहरी विकास, भौतिक पूर्वाधार र उर्जामन्त्री कुलमान घिसिङ र मकवानपुरको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान बीच मन्त्रालयमा भेटवार्ता भएको छ। शुक्रबार मन्त्री घिसिङ र अध्यक्ष घलान बीच मन्त्रालयमै भेटवार्ता भएको हो।
भेटघाटका क्रममा गाउँपालिकाभित्र सञ्चालनमा रहेका अधुरा विकास निर्माण परियोजनाहरुको समग्र प्रगति र समस्याबारे विस्तृत छलफल भएको जनाएको छ ।
भेटका क्रममा अध्यक्ष घलानले विशेषगरी बागमती गाउँपालिका वडा १ र वडा नम्बर २ लाई जोड्ने महत्वपूर्ण संरचना हात्तिढुङ्गा चिरुवाखोला पक्की पुल निर्माण हुन बाँकी र राइगाउँ क्यान्टिन सडक निर्माण कार्य अधुरो रहेको विषयमा ध्यानाकर्षण गराएका थिए । उक्त पुल निर्माण र सडक निर्माण सम्पन्न भएमा स्थानीयहरूको दैनिक आवतजावत, कृषि उत्पादनको बजारिकरण तथा आपतकालीन सेवामा सहजता पुग्ने भन्दै छिटो अघि बढाउन आग्रह गरिएको थियो। मन्त्री घिसिङद्वारा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइने आश्वासन दिनुभएको छ। यसैक्रममा चिरुवाखोला पुल निर्माण बारे, मन्त्रालयले उक्त परियोजनाको बजेट व्यवस्थापन विपद् व्यवस्थापन कोषबाट अघि बढिसकेको र फाइल प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी अध्यक्ष घलानलाई गराइएको छ।
गाउँपालिका भित्रका अन्य विकास आयोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि पनि निरन्तर सहकार्य र समन्वय जारी रहने दुवै पक्षले प्रतिबद्धता जनाएको बैठकमा बताइएको छ।

























