काठमाडौं: बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक (एम.डी) मनोज सिलवाल बीच आज शुक्रबार काठमाडौंस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा औपचारिक भेटघाट तथा छलफल भएको छ।

भेटघाटका क्रममा बागमती गाउँपालिका भित्रको विद्यमान विद्युत प्रसारण लाइनका अवस्था र रहेको समस्याबारे छलफल भएको छ। विशेषगरी गाउँपालिका हुँदै अन्य पालिका तथा जिल्लातर्फ जोडिने मुख्य प्रसारण लाइनमा देखिएको अवरोध, विस्तार तथा सुदृढीकरणका विषयमा दुवै पक्षबीच समाधानमुखी साझा योजना बनाउन सहमति जनाइएको छ।
यससँगै, बागमती गाउँपालिकाभित्र विद्युतिय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न ईभी चार्जिङ स्टेशन स्थापना गर्ने सम्भावना र आवश्यक पूर्वाधारका बारे पनि छलफल भएको अध्यक्ष घलानले जानकारी दिनुभयो। आधुनिक र वातावरणमैत्री यातायात प्रवर्द्धनका लागि चार्जिङ स्टेशन स्थापना महत्वपूर्ण हुने दुवै पक्षको निष्कर्ष रहेको उहाँको भनाई छ। गाउँपालिकाको ऊर्जा पहुँच विस्तार, सेवा सुधार र दिगो विकासलाई ध्यानमा राख्दै प्राधिकरण र गाउँपालिका बीच निकट सहकार्य अघि बढाइने बताइएको छ।





















