बागमती: मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर १, भैंसेस्थित भैंसेश्वर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ। मंगलबार विद्यालयमा एक कार्यक्रमका बीच ग्रामीण असहाय बालबालिका सामुदायिक पुनर्स्थापना केन्द्रले विद्यालयका ४१ जना विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको विद्यालयका प्रधानाध्यापक देव मसराङ्गी मगरले बताउनुभयो ।

मंगलबार संस्थाका फिल्ड संयोजक राजेन्द्र भोम्जनसहितको टोलीले विद्यालयमा उपस्थित भएर विद्यालयका प्रधानाध्यापक मसराङ्गीसहित शिक्षकहरुको उपस्थितिमा विद्यार्थीहरूलाई उक्त कपडा र शैक्षिक सामग्री वितरण गरिएको हो। प्रअ मसराङ्गीका अनुसार कक्षा १ देखि ४ सम्मका ४१ जना विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ। मंगलबार केहि विद्यार्थीहरु अनुपस्थित भएको र पछि विद्यालयमा वितरण गरिने जनाएको छ। स–साना विद्यार्थीहरुको लागि चिसो बढ्न सुरु भइरहेको बेला सहयोग प्राप्त भएकोमा प्रअ मसराङ्गीले संस्थालाई धन्यवाद दिनुभएको छ।





















