बकैया: मकवानपुरको बकैया गाउँपालिकामा प्रथम बकैया खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ। मंगलबार बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

बागमती-३ खेलकुद विकास समितिको आयोजनामा वडा नम्बर ३ स्थित बकैया खेलमैदानमा सुरु प्रतियोगितामा आयोजक बी ले विजयी सुरुवात गरेको छ। उद्घाटन खेलमा वडा नम्बर ८ लाई टाइब्रेकरमा ४-१ गोलले हराउँदै आयोजक बी ले विजयी सुरुवात गरेको हो। निर्धारित खेल समय गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। खेलको म्यान अफ द म्याच आयोजकका गोलरक्षक तारा नेगी घोषित भए।

प्रतियोगिता अन्तर्गत दोस्रो दिन बुधबार ३ खेल सञ्चालन हुनेछ। पहिलो खेलमा बिहान एकता बैण्ड एफसी र बिग ब्वाइज एफसी बीच, दोस्रो खेलमा जीवन ज्योति युवा क्लब र लेभल अप मकवानपुर बीच दिउँसो १ बजे तथा दिउँसो ३ बजे आयोजक ए र बागमती गाउँपालिकाको टिम बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल खेल कार्तिक २ गते हुनेछ । प्रतियोगिताको विजेताले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

बकैया-३ खेलकुद विकास समितिका अध्यक्ष कृष्ण बहादुर लोको सभाध्यक्षता तथा बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्त बहादुर खत्री, एन्फा केन्द्रीय सदस्य टिका लामा, बकैया खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङ, बकैया-३ का अध्यक्ष भुमल सिं घलान, ८ का अध्यक्ष विष्णु नेगी लगायत विभिन्न राजनीतिक दल एवम् संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।





















