हर्नामाडीको साना किसान कृषि सहकारीको कारोबार लक्ष्य २९ करोड

असोज २८ गते, हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नं. १८ हर्नामाडीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको १५ औं साधारणसभा आज (मंगलबार) सम्पन्न भएको छ ।

सहकारीले आ.व.२०८२/०८३ मा २९ करोडको कारोबार गर्ने लक्ष्य लिएको छ । सहकारीका व्यवस्थापक माधव प्रसाद पुडासैनीले संस्थाले आ.व.२०८१/०८२ मा गरेको प्रगती एवं २०८२/०८३ को लागि प्रस्तावित कार्यक्रम तथा बजेटका विषयमा प्रस्तुत गर्नुभएको प्रतिवेदनमा यस वर्ष शेयर सदस्य संख्या १ हजार ३ सय ४५ जना वृद्धि गर्ने, व्याज असुलीदर सय प्रतिशत गर्ने, आम्दानीलाई बढाएर ७ करोड २९ लाख ११ हजार ९ सय ३० रुपैयाँ गरी संस्थााको कुल कारोबारलाई २९ करोडमा लैजाने लक्ष्य लिइएको छ । जसमा संंस्थाले खुद नाफा मात्रै ८० लाख २ हजार ३ सय ६३ रुपैयाँ कायम गर्ने दाबी गरेको छ ।

व्यवस्थापक पुडासैनीका अनुसार आ.व. २०८१/०८२ मा संस्थाले २३ करोडको कारोबार गरेको थियो । जसको आम्दानी ६ करोड ६१ लाख ७१ हजार ९ सय रहेकामा संस्थाले ६६ लाख ३७ हजार ७ सय ५० रुपैयाँ खुद नाफा गरेको छ । संस्थामा हाल १११४ जना शेयर सदस्य रहेका छन् ।

कार्यक्रममा अध्यक्षको प्रतिवेदन पेश गर्दै अध्यक्ष रेखा खतिवडाले आ.व.२०८१/०८२ मा दुध संकलन तथा बजारीकरण मार्फत ३ करोड ७० लाखबढी रकम भित्र्याउन सफल भएको बताउनुभयो । बसन्ते मकै पकेट बाली अन्तर्गत १ करोड बराबरको मकै उत्पादन, प्रधानमन्त्री कृषि आधु्निेकीकरण कार्यक्रम मार्फत विभिन्न कृषि औजारको वितरण, मल, बिउबिजन , दाना, चोकर लगायतको वितरण तथा वित्तिय साक्षरता सम्बन्धि तालिम दिईएको प्रतिवेदनमा उल्लेख छ । दुध विक्री गर्ने किसानबाट प्रतिलिटरमा १ रुपैयाँ कट्टा गरी भएको ३ लाख ९८ हजार २१९ रुपैयाँमा संस्थाको तर्फबाट सोही बराबरको रकम कुल ७ लाख ९७ हजार ४३८ रुपैयाँ सदस्य प्रोत्साहन कोषमा जम्मा गरिएको उल्लेख छ ।

साधारणसभाका अवसरमा अध्यक्ष खतिवडाले आ.व.२०८२/०८३ मा गरिने बार्षिक कार्ययोजना पनि प्रस्तुत गर्नुभयो । यस वर्ष सहकारीले स्थानीय तहको पहलमा धानको बिउ वृद्धि गर्ने, चैते, बर्खे धानको पकेट कार्यक्रमलाई निरन्तरता दिने , तरकारी खेती गर्ने १० जना कृषकलाई मल्चिङ प्रविधि सहयोग गर्ने, दैनिक २० लिटरभन्दा धेरै दुध विक्री गर्ने किसानलाई प्रतिलिटर थप रु. १ रकम भुक्तानी दिने कार्यक्रमलाई निरन्तरता दिने, पशु प्राविधिक राखी एग्रोभेट पसल सञ्चालनमा ल्याउने, कृषि परियोजनालाई सञ्चालन गर्न ईच्छुक किसानलाई उचित ब्याजदरमा ग्रामीण उद्या कर्जा उपलब्ध गराउने लगायत यस आ.व. गरिने कार्यक्रमका लक्ष्यहरु छन् ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै साना किसान लघुवित्त वित्तिय संस्था हेटौंडाका प्रमुख भोलानाथ रेग्मीले सहकारीले शेयरपुँजी तथा बचत बढाउनुपर्ने सुझाब दिनुभयो । स्थानीय तहसंग समन्वय गरेर सञ्चालन गरेको खण्डमा यस सहकारी यस क्षेत्रको अब्बल संस्था ठहरिने उहाँको विश्वास छ ।

यसैगरी साना किसान सहकारी संस्थाका अभियन्ता एकराज उप्रेतीले शेयर सदस्यले बचत गरेको रकम अनावश्यक कार्यमा खर्च गर्न नहुने बताउनुभयो । सहकारीबाट लिएको ऋण जुन उद्धेश्यबाट लिइएको सोही बमोजिम खर्च गर्न पनि आग्रह गर्नुभयो । ऋणको दुरुपयोग हुँदा अहिले हरेक घरमा मानसिक समस्याहरु देखा परिरहेको समेत जिकिर गर्नुभयो । उहाँले सहकारीलाई अगाडी बढाउन बचतलाई प्राथमिकता दिन पनि सुझाब दिनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष नारायण प्रसाद देवकोटाले शेयर सदस्यका पेशा, व्यवसायलाई उत्पादनसंग जोडिनुपर्ने औंल्याउनुभयो । जोसंग उत्पादन छ उसले व्यापारका साथै बचत गर्ने क्षमता हुनेभन्दै सदस्यहरुलाई आयआर्जनमूलक क्षेत्रमा केन्द्रित गरिनुपर्ने उहाँको भनाई छ । कतिपय सहकारी समस्याग्रस्त भएकोभन्दै उहाँले त्यस्ता समस्याबाट बच्न सहकारीमा आर्थिक अनुशासन हुनुपर्ने बताउनुभयो । सदस्यहरुले लिएका ऋणको सही ठाउँमा सदुपयोग भए/नभएको बारेमा अनुगमनलाई व्यापक बनाउन पनि उहाँको आग्रह थियो ।

कार्यक्रममा असल ऋणीहरुमा दलमाया तिमल्सिना, हिमकुमारी खत्री, मिना उपरकोटी, सिता रायमाझी, पार्वती खतिवडा, अमृता लामा, तिलकुमारी सुवेदी, मन्जु बरैली, पार्वती शाह, वृद्धा सम्मानमा नन्दकुमारी श्रेष्ठ, धनमाया पाख्रिन, सीता कुमारी बराल र मैनादेवि अधिकारी, एसर्ईईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरु असिम खड्का र रजिना नेपाल, उत्कृष्ट बाल बचतकर्ता मेलिना बजगाई र सिमोना बानिायाँ , उत्कृष्ट दुध उत्पादक कृषकहरु बद्रीनाथ अधिकारी, केशब रिजाल, सीता तिवारी र जितेन्द्र नेपाललाई सम्मान गरिएको थियो भने दैनिक २० लिटरभन्दा बढी दुध विक्री गर्ने ९ जना किसानलाई प्रोत्साहनस्वरुप प्राप्त गर्ने रकम हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा लेखा समिति संयोजक निर्मला न्यौपानेले लेखा समितिको प्रतिवेदन पेश गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष लक्ष्मी कुमारी श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा वंशगोपाल बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष माधवनारायण तुलाधर, ठूलोदमार प्रहरी चौकी ईन्चार्ज रिमा कोईराला, साना किसान सहकारीका सल्लाहकार केशवराज पण्डित, चन्द्रकुमारी ढुंगाना, सीता कुमारी बराल, नरहरी महत, विश्वनाथ ढुंगाना, लेखा समिति सदस्य जाण्डवी धमला र राधिका गैरे, सदस्यहरु कमलादेवी खड्का, चम्पा कुमारी बानियाँ, तेजकुमारी न्यौपाने, मैयाकुमारी श्रेष्ठ, अमृता खड्का, विमला विसुङ्खे र कृष्ण कुमारी हुमागाँई लगायतको आतिथ्यता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.