बागमती: मकवानपुरको बागमती गाउँपालिकामा ८ ए साइड बागमती भेट्रान्स पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ। वाइसीएल बागमती गाउँपालिका कमिटीको आयोजनामा बागमती-४ स्थित सहिद स्मृति रंगशालामा सुरु प्रतियोगिताको बिहीवार बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले उद्घाटन गर्नुभएको हो।

प्रतियोगितामा गाउँपालिकाका अध्यक्ष सर्केश घलानको कप्तानीमा वडा नम्बर ५ र ७ नम्बरको बी टिमले विजयी सुरुवात गरेको छ। बिहीवार भएको उद्घाटन खेलमा आयोजकलाई टाइब्रेकरमा ४-३ गोलले हराउँदै ५ ले विजयी सुरुवात गरेको हो। निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।

यस्तै बिहीवार नै भएको दोस्रो खेलमा वडा नम्बर ७ को बी ले १ नम्बरको टिमलाई टाइब्रेकरमा ३-२ गोलले हराउँदै विजयी सुरुवात गरेको छ। निर्धारित खेल समय २-२ गोलको बराबरीपछी खेल टाइब्रेकरमा धकेलिएको थियो। दुवै टिम सेमिफाइनल प्रवेश गरेको छ भने फाइनल प्रवेशका लागि पनि एकअर्कासँग भिड्नेछन् ।

प्रतियोगिता अन्तर्गत शुक्रबारको पहिलो खेलमा दिउँसो ३ बजे वडा नम्बर २ र ६ भिड्नेछन् भने ४ बजे वडा नम्बर ७ को ए र वडा नम्बर ४ बीच प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिताको फाइनल खेल असोज १२ गते हुनेछ । प्रतियोगिताको विजेता टिमले २० हजार र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

वाइसीएल बागमती गाउँपालिका कमिटीका अध्यक्ष आकाश लोच्पन `दावा´ को सभाध्यक्ष तथा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती गाउँ कमिटीका इन्चार्ज ज्ञान सागर लामा, अध्यक्ष अरुण बल, बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङ, वाइसीएल मकवानपुरका अध्यक्ष मुक्ति लामा, पालिका खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष टिकालाल श्रेष्ठ र बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रममा वाइसीएल बागमतीका उपाध्यक्ष विक्रम लोप्चनले स्वागत मन्तव्य राखेको थियो।























