मकवानपुर: मकवानपुरको बकैया गाउँपालिका–३, हात्तीसुँडेमा ‘बकैया मिनी साबुन उद्योग’ सञ्चालनमा आएको छ। वैदेशिक रोजगारीबाट फर्किएका बकैया गाउँपालिकाका तीन युवा सूर्य लामा, सन्देश मोक्तान र गगन राज लुङ्बाको पहलमा स्थानीय उत्पादनका रूपमा ‘बकैया साबुन’ उत्पादन तथा वितरण सुरु गरिएको हो।

विदेशमा रोजगारी गरेर फर्किएपछि आफ्नै गाउँमा केही गर्ने सोच बनाएका तीन युवाले पालिकाकै नामसँग जोडेर साबुन उत्पादन सुरु गरेका हुन्। ‘स्थानीय उत्पादन, हाम्रो पहिचान’ भन्ने अवधारणासहित अघि बढेको उद्योगले उत्पादनसँगै स्थानीय रोजगारी सिर्जनामा समेत योगदान पुर्याएको छ।

उद्योग सञ्चालनमा आएपछि हालसम्म ५० जनाभन्दा बढी स्थानीयले रोजगारी पाइसकेका छन्। रोजगारीका लागि विदेश पुगेका युवाहरू आफ्नै गाउँ फर्किएर उद्योग स्थापना गर्दै अरूलाई समेत रोजगारी दिन सफल हुनु स्थानीय उद्यमशीलताको प्रेरणादायी उदाहरण बनेको छ।

आइतबार भएको उद्योग उद्घाटन प्रतिनिधिसभा सदस्य प्रकाश गौतम, बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, बकैयाका उपाध्यक्ष भक्त बहादुर खत्री लगायत जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका पदाधिकारी र स्थानीयहरु सहभागी थिए।



























