बैशाख ०९ गते/हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १८ ठूलोदमारमा रहेको ज्योति सामुदायिक वन उपभोक्ताले विभिन्न कृषक समूहहरुलाई अनुदान सहयोग उपलब्ध गराएको छ । समूहले आज(बुधबार) एक कार्यक्रमको आयोजना गरी ५ वटा कृषक समूहहरुलाई अनुदान वितरण गरेको हो ।
ज्योति वनको आर्थिक वर्ष २०८२/०८३ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत महिला सशक्तिकरण, गरिबी न्यूनिकरण कार्यक्रमभित्र रहेको लक्षित वर्गमा अनुदान शीर्षकमा आधारित रहेर कुल २ लाख ७० हजार रुपैयाँको अनुदान वितरण गरेको हो ।

अनुदान प्राप्त गर्ने समूहहरुमा ज्योति महिला कृषक समूहलाई व्यवसायिक खुर्सानी खेतीका लागि रु.४५ हजार, प्रगतिशिल महिला कृषक समूहलाई बाख्रा पालनका लागि रु.४५ हजार, मिलिजुली विपन्न कृषक समूहलाई रु.४५ हजार त्यसैगरी लालीगुराँस महिला कृषक समूहलाई व्यवसायिक अदुवा खेतीका लागि रु.६० हजार र अन्नपूर्ण महिला कृषक समूहलाई व्यवसायिक बंगुर पालनका लागि रु. ७५ हजार रुपैयाँ अनुदान वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवं हेटौंडा १८ नं. का वडा अध्यक्ष अनिल कुमार बानियाँले उक्त अनुदान रकम बराबरको चेक समूहका अध्यक्ष एवं प्रतिनिधिलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बानियाँले वन जंगल जोगाएको प्रतिफलस्वरुप आज उपभोक्ताहरुले अनुदान पाउन सफल बताउनुभयो । उहाँले अनुदानको सही सदुपयोग गर्न सहभागीहरुलाई सुझाब दिनुभयो साथै सदुपयोग भएनभएको अनुगमन समेत आफैं गर्ने बताउनुभयो ।

कार्यक्रममा वन समूहका लेखा समिति संयोजक इमान बहादुर थापाले अनुदानलाई बीऊ पुँजीको रुपमा परिचालन गर्न आवश्यक रहेको औंल्याउनुभयो । आगामी दिनमा कसैसंग अनुदान लिन नपर्ने स्थितीमा पुग्न सफल होस् भन्दै शुभकामना समेत दिनुभयो ।

वन समूहका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष रामबाबु खतिवडाले सामुदायिक वन समूहहरुले आफ्नो बार्षिक कार्यक्रमभित्र कुल आम्दानीको ५० प्रतिशत महिला सशक्तिकरण, गरिबी न्यूनिकरण लगायतका कार्यक्रममा बजेट बिनियोजन गर्नुपर्ने नीतिका कारण अनुदान वितरण कार्यक्रम गरिएको स्पष्ट पार्नुभयो ।
समूहका उपाध्यक्ष रेखा खतिवडाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा कार्यसमिति पदाधिकारी, कृषक समूहका प्रतिनिधि एवं उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

























