बागमतीमा निशुल्क आँखा शिविर: ७५ जनाको निशुल्क शल्यक्रिया

बागमती: मकवानपुरको बागमती गाउँपालिकामा सञ्चालन भएको निशुल्क आँखा शिविर सम्पन्न भएको छ। गाउँपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा शिविर सञ्चालन भएको हो।


शिविर अन्तर्गत चैत २३ गतेदेखि २७ गतेसम्म आँखा परिक्षण गर्दा मोतिविन्दु पहिचान भएका ७५ जनाको चैत २८ गते आँखाको शल्यक्रिया गरिएका थिए।

वडा नम्बर ५, कोइराला दमारस्थित सहिद स्मृति अस्पतालमा शल्यक्रियापछि २९ गते डा. सुनिल थकालीको आग्रहमा गाउँपालिका अध्यक्ष सर्केश घलानसहितको टिमले बिरामीहरूको आँखा पट्टी खोली उनीहरूको अवस्था अवलोकन गर्नुभयो। पट्टी खोल्ने क्रममा अधिकांश बिरामीहरूले पुनः स्पष्ट रूपमा देख्न सकेपछि खुशी व्यक्त गरेका थिए।

उक्त अवसरमा अध्यक्ष घलानले शिविर तथा शल्यक्रियामा सहभागी बिरामीहरू, उपचारमा खटिनु भएका चिकित्सक टोली, व्यवस्थापनमा संलग्न कर्मचारीहरू तथा स्वास्थ्य शाखाका सम्पूर्ण जनशक्तिलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले संघीयताको मर्मअनुसार गाउँपालिकाले स्थानीय तहमै गुणस्तरीय सेवा प्रवाह गर्दै “सिंहदरबार गाउँमै आएको अनुभूति” दिलाउने गरी काम गरिरहेको बताउनुभयो।

अध्यक्ष घलानले गाउँघरमा अझै पनि मोतियाबिन्दुको अपरेशन गर्दा झन् बिग्रन्छ भन्ने भ्रम रहेको उल्लेख गर्दै त्यस्ता गलत धारणा त्याग्न सबैमा आग्रह गर्नुभयो।

शिविरले आर्थिक रूपमा कमजोर तथा भौगोलिक रूपमा विकटताका कारण उपचारबाट वञ्चित बिरामीहरूलाई प्रत्यक्ष लाभ पुर्‍याएको छ। निशुल्क उपचार, खान–बस्न र घर फर्किने व्यवस्था मिलाइएपछि विशेषगरी ज्येष्ठ नागरिकहरू अत्यन्तै खुशी देखिएका थिए।

समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, सामाजिक विकास संयोजक कमान सिंह पाख्रिन, वडा नम्बर ५ का अध्यक्ष विजय कुमार भोलन, स्वास्थ्य शाखा प्रमुख दिनेश गुप्ता लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.