झुरझुरेमा दुग्ध संकलन केन्द्रको उद्घाटन, कृषक लक्षित कार्यक्रमलाई प्राथमिकता राखेर काम गर्दै बागमती गाउँपालिका

बागमती: मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ४ झुरझुरेमा दुग्ध संकलन केन्द्रको उद्घाटन भएको छ। मंगलबार गाउँपालिकाका अध्यक्ष सर्केश घलानले एक कार्यक्रमका बीच दूध संकलन केन्द्रको उद्घाटन गर्नुभएको हो।

दुग्ध संकलन केन्द्रको उद्धाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष सर्केश घलानले गाउँपालिकाले कृषी उत्पादनमा जोड दिएर काम गरिरहेको बताउनुभयो। बागमती गाउँपालिका क्षेत्रभित्र उत्पादित दुध गाउँपालिका अन्तर्गतका सहकारी एवम् कृषक मार्फत झुरझुरेमा अवस्थित दुग्ध संकलन केन्द्रमा संकलन गरी ललितपुरस्थित खरिपाटी डेरी उद्योग प्रालिलाई विक्री गर्ने उहाँले बताउनुभयो । उहाँले गाउँपालिकाभित्र उत्पादन भएको दूध संकलन गरि कृषकलाई समयमै रकम उपलब्ध गराउने पनि बताउनुभयो ।

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले यसबाट दुधको दिगो बजारीकरण तथा समयमा नै किसानले दुधको मूल्य प्राप्त गर्ने बताउनुभयो । दैनिक रुपमा करिब ७ हजार देखि १० हजार लिटर सम्म दुधको निर्यात गरी बागमती गाउँपालिकाका किसानहरु लाभान्वित हुने उहाँको विश्वास छ। गाउँपालिकासँग भएको सम्झौता अनुसार खरिपाटी डेरि प्रालिले संकलन केन्द्रबाट दूध लानेछन् र कृषकलाई दुधको रकम समयमै उपलब्ध गराउनेछ।

गाउँपालिकाले यो वर्ष पनि बिउपुँजी कार्यक्रम अन्तर्गत ८ करोड रुपैयाँ कृषकहरुलाई सहुलियतपुर्ण ऋण प्रदान गर्दैछ। गाउँपालिकाका पशु शाखा प्राविधिक राजेन्द्र गोलेका अनुसार अहिले पालिकाभित्र १२ वटा दुग्ध सहकारीमार्फत दूध संकलन गर्दै आइरहेको छ।

दुग्ध संकलन केन्द्र उद्धाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष फणीन्द्र तिमल्सिना, गाउँपालिकाका प्रवक्ता एवम् ३ नम्बरका वडाध्यक्ष कमानसिँ पाख्रीन, आर्थिक विकास समितिका संयोजक एवम् ७ नम्बरका वडाध्यक्ष उत्तर बहादुर भोलन लगायत पालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.