काठमाडौं । करिब चार दशकअघि मीनबहादुर गुरुङले नक्सालमा एउटा सटर भाडामा लिएर सुरु गरेको भाटभटेनी सुपर स्टोर आज देशकै सबैभन्दा ठूलो खुद्रा व्यापारिक ब्रान्ड बनेको छ। रोजगारी सिर्जना र लगानीको पर्याय मानिने भाटभटेनी अहिले आएर जेनजी आन्दोलन को प्रत्यक्ष निशाना बनेको छ।
गुरुङले आफ्नो पसिनाले खडा गरेको यो व्यवसाय एक्कासी ध्वस्त भएपछि, हजारौंको रोजगारी संकटमा परेको छ। भाटभटेनी सुपर स्टोरका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलका अनुसार देशभरि रहेका करिब साढे दुई दर्जन शाखामध्ये १२ वटा ठूलो स्टोर पूर्ण रूपमा जलेर खरानी भएका छन्।
त्यस्तै, ९ वटा स्टोर तोडफोडपछि लुटपाटमा परे, तर भाग्यवश आगजनी भएन। बाँकी ७ वटा स्टोर भने जोगिएका छन्।
‘भौतिक र आर्थिक क्षति कल्पना बाहिरको भएको छ,’ पौडेलले भने, ‘जेनजी आन्दोलनका कारण कम्तीमा ५ हजार जनाले प्रत्यक्ष रोजगारी गुमाएका छन्।’ पौडेलका अनुसार, भाटभटेनीका प्रत्येक स्टोरमा औसतमा ५ सय जनाले प्रत्यक्ष रोजगारी पाएका थिए, जसमा महिला संख्या उच्च छ।





















