हेटौंडा । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एस’ नेपालको एरिया–२ द्वारा आयोजना गरिने ‘मेगा इन्स्टलेसन एण्ड इन्डक्सन प्रोग्राम’ का लागि सम्पूर्ण तयारी पूरा भएको छ।
एरिया–२ का चिफ कोअर्डिनेटर पीएमजेएफ अमितकुमार शर्माले पत्रकार सम्मेलनमार्फत विशेष कार्यक्रम यही शुक्रबार दिउँसो १ बजे हेटौंडा–१ चौकोटोलस्थित हिमालयन दरबारमा हुने जानकारी गराएका छन्। कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर एमजेएफ विनय बस्नेत रहनेछन्। सो अवसरमा आईपीडीजी पीएमजेएफ तासीडोल्मा तुम्बाहाङ्फे, पीडीजी तथा मल्टिपल डिष्ट्रिक्ट कमिटी चेयरपर्सन पीएमजेएफ अमरबहादुर श्रेष्ठ, पीएमसीसी पीएमजेएफ डा. रमेश अग्रवाल, पीडीजी एमजेएफ शम्भु नकर्मी लगायत प्रतिष्ठित व्यक्तित्वको सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रमका दुई मुख्य गतिविधि रहनेछन्। इन्स्टलेसन कार्यक्रममा विभिन्न लायन्स क्लबका नवनिर्वाचित अधिकारीलाई आधिकारिकरूपमा पदस्थापना गरिनेछ भने इन्डक्सन कार्यक्रममा नयाँ सदस्यलाई क्लबमा औपचारिक सदस्यता प्रदान गरिनेछ।
कार्यक्रम संयोजक राजकुमार जोशीका अनुसार यस अवसरमा लियो क्लबहरूको संयुक्त पदस्थापना तथा नयाँ सदस्य आबद्धता पनि गरिनेछ। उनले लायन्स क्लबको मूलमन्त्र ‘वी सर्भ’ अनुसार सेवा, समर्पण, नेतृत्व र एकताको भावना अझ मजबुत हुने विश्वास व्यक्त गरे।
शर्माका अनुसार कार्यक्रममा करिब २५० जना सहभागी हुने अनुमान गरिएको छ। उनले सबैलाई कार्यक्रम सफल बनाउन सहयोग र समर्थन गर्न आग्रह गरेका छन्।
लायन्स क्लब स्थापना कालदेखि नै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामुदायिक विकासमा सक्रिय रहँदै आएको छ। आयोजकहरूले यो कार्यक्रम सदस्यबीच एकता र सहकार्यलाई थप सुदृढ बनाउँदै भविष्यमा प्रभावकारी सेवाकार्यको मार्ग प्रशस्त गर्ने विश्वास लिएका छन्।






















