हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनताको मत र विश्वासको सम्मान गर्दै जनमुखी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक आफ्नै निर्वाचन क्षेत्र मकवानपुर–२ (ख) मा आयोजित औपचारिक कार्यक्रममा सहभागी हुँदै उनले गरिबमुखी, आयमुखी र न्यायमुखी कार्यक्रममार्फत प्रदेशको समग्र विकासमा जुट्ने अठोट व्यक्त गरेका हुन् ।

मनहरी गाउँपालिकाले बुधबार आयोजना गरेको मुख्यमन्त्री स्वागत तथा तीज विशेष सांस्कृतिक कार्यक्रममा बोल्दै बानियाँले निर्वाचन क्षेत्रमा विकासका कामलाई निष्पक्ष ढंगले अघि बढाउने प्रतिबद्धता जनाए । उनले भने, “मलाई प्रदेशसभा सदस्य निर्वाचित गराउन मनहरीका जनताले ठूलो योगदान गर्नुभएको छ । यस भेगका जनताले विश्वास गरेर जिताएकै कारण म आज मुख्यमन्त्री बन्न सकेको हुँ । अब यो वा त्यो पार्टी नभनी यस भेगका जनताको आवश्यकता हेरी विकास गर्नु मेरो कर्तव्य हो ।”
उनले मनहरी गाउँपालिकाको लामिटार–चकरी–मकरी सडकलाई प्राथमिकता दिई कालोपत्रे गर्ने तथा अन्य पुल, सडक र पूर्वाधार विकासमा पनि ध्यान दिने विश्वास दिलाए । साथै, महिलाको महान पर्व हरितालिका तीजलाई सभ्य, भव्य र सुसंस्कृत ढंगले मनाउन सुझावसमेत दिए ।

कार्यक्रम गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङलगायतको आतिथ्यता रहेको थियो । मनहरी गाउँपालिकाले आफ्नै क्षेत्रका सांसद बानियाँ मुख्यमन्त्रीमा नियुक्त भएकामा खुशी व्यक्त गर्दै बधाई ज्ञापन तथा सम्मानपत्रसमेत प्रदान गर्यो ।
त्यसैगरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, नेपाली काँग्रेसकी नेतृ कमला मैनालीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

मुख्यमन्त्री बानियाँले बुधबार नै मनहरीस्थित सम्पर्क कार्यालयमा पुगेर आम नागरिकका समस्या र गुनासा सुनेका थिए ।





















