हेटौँडा । अजरबैजानको बाकुमा सम्पन्न इण्टरनेशनल बुडो मार्सल आर्ट च्याम्पियनसिप–२०२५ मा पदक जितेर देशको नाम उज्ज्वल पार्न सफल खेलाडी सुदर्शन खतिवडालाई हेटौँडामा विशेष सम्मान गरिएको छ।
मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी (IKO Union) मकवानपुरको आयोजनामा मंगलबार जिल्ला खेलकुद विकास समितिको सभाहलमा आयोजित कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले खतिवडालाई नगद २५ हजार १२५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिन्।
हेटौँडा–१८ का प्रतिभाशाली खेलाडी खतिवडाले सो प्रतियोगितामा करातेतर्फ स्वर्ण पदक र किकबक्सिङ्गतर्फ काँस्य पदक जितेका थिए। जुलाई २६ देखि २८ तारिखसम्म सम्पन्न प्रतियोगितामा विभिन्न देशका खेलाडीहरूको सहभागिता रहेको थियो।
खेल मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै दर्शक र आयोजकहरूको ध्यान खिच्न सफल खतिवडाले यसअघि पनि थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गरिसकेका छन्। लामो समयदेखि कराते र किकबक्सिङ्ग अभ्यासमा सक्रिय उनले आफ्नो मेहनत र समर्पणले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभियानलाई निरन्तरता दिइरहेका छन्।
सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख लामाले, “सुदर्शन खतिवडाले पदक जितेर हेटौँडाको मात्र नभई सम्पूर्ण नेपालको गौरव बढाएका छन्। हामीलाई उहाँमाथि गर्व छ, उहाँको आगामी दिन अझै उज्ज्वल होस् भन्ने शुभकामना छ,” भनिन्।





















