हेटौँडा । तामाङ पत्रकार संघ बागमती प्रदेश समिति र मकवानपुर जिल्ला शाखाको संयुक्त आयोजनामा आगामी भाद्र १ गते ‘तामाङ प्रसारण दिवस’ विशेष समारोहका साथ मनाइने भएको छ।
वि.सं. २०५१ साल भाद्र १ गते रेडियो नेपालबाट पहिलोपटक तामाङ भाषामा समाचार प्रसारण भएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको हो। संघका बागमती प्रदेश अध्यक्ष ज्ञानेन्द्र तामाङका अनुसार यस वर्षको कार्यक्रममा तामाङ भाषाको संरक्षण, प्रवर्द्धन र पत्रकारितामा यसको योगदानबारे विशेष छलफल हुने छ।
उनका अनुसार बागमती प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा स्थापित तामाङ भाषालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पत्रकारिताको भूमिकासम्बन्धी अन्तरक्रिया पनि आयोजना गरिनेछ।
‘आइते सिं–बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता पुरस्कार’ स्थापना
दिवसकै अवसरमा ‘आइते सिं–बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता पुरस्कार’ स्थापना गरिएको छ। यो पुरस्कार राप्ती नगरपालिका–७, चितवनका युवा व्यवसायी तथा सञ्चारकर्मी राजेश रुम्बा लामाले आफ्ना दिवंगत बुवा आइते सिं रुम्बा र आमा बुद्धिमाया नेगीको स्मृतिमा स्थापना गरेका हुन्।
संघका सचिव दिल बहादुर रुम्बा तामाङका अनुसार, बागमती प्रदेशभित्र क्रियाशील एक जना तामाङ पत्रकारलाई प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिनेछ। पुरस्कार राशी १० हजार १ सय रुपैयाँ रहनेछ र विशेष समारोहकै बीचमा हस्तान्तरण गरिनेछ। पुरस्कारसम्बन्धी सम्पूर्ण निर्णय अधिकार तामाङ पत्रकार संघ बागमती प्रदेश समितिलाई रहने संघले विज्ञप्तिमार्फत जनाएको छ।
संघले तामाङ समुदायको हक–हित, पहिचान, भाषा, संस्कृति तथा कला–साहित्य संरक्षण र प्रवर्द्धनमा निरन्तर सक्रिय भूमिका खेलेको जनाएको छ।





















