हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था भित्र रहेर चुनाव जितेका दलहरु नै अहिले व्यवस्थालाई चुनौती दिन थालेको आरोप लगाउनुभएको छ।
नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको बधाई, स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले राप्रपा र रास्वपा जस्ता दलहरु संघीयता र गणतन्त्रको विरोधमा उत्रिएको बताउनुभयो।
“संघर्ष र बलिदानबाट प्राप्त यो व्यवस्थाभित्र रहेर तलब भत्ता खाने अनि व्यवस्थालाई बदनाम गराउने? यस्तो दोहोरो चरित्रप्रति जनता सजग हुनुपर्छ,” उहाँको भनाइ थियो। मुख्यमन्त्री बानियाँले यदि व्यवस्था नमान्ने हो भने राप्रपा र रास्वपाले तलब भत्ता नलिने आँट गर्नुपर्ने चुनौती समेत दिनुभयो।
मुख्यमन्त्री बानियाँले आफ्नो प्रमुख उद्देश्य जनताको सेवा रहेको उल्लेख गर्दै जनताको विश्वास टुट्न नदिने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभयो। “म केवल पदका लागि होइन, सेवा भावका साथ आएको हुँ,” उहाँले भन्नुभयो। उहाँले बागमती प्रदेशबासी र कांग्रेस कार्यकर्ताको शिर कहिल्यै नझुक्ने गरी काम गर्ने अठोट व्यक्त गर्नुभयो।
कार्यक्रममा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभाध्यक्षता रहनुका साथै बिनाविभागीय मन्त्री शिवराज अधिकारी, खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री कृष्ण कुमार तामाङलगायत नेताहरूको आतिथ्यता रहेको थियो।





















