हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफू पदमा रहेसम्म प्रदेशमा भ्रष्टाचार सहन नदिने स्पष्ट घोषणा गर्नुभएको छ। नारायणी यातायात व्यवसायी संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले भ्रष्टाचारमुक्त प्रदेश निर्माण गर्ने दृढ संकल्प व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “जबसम्म म मुख्यमन्त्री छु, तबसम्म प्रदेशमा भ्रष्टाचारको कुरा सुन्नुपर्ने अवस्था आउँदैन।” भ्रष्टाचार गर्ने चाहे मन्त्री होस् वा कर्मचारी, कसैलाई पनि उन्मुक्ति नदिइ कारवाहीको दायरामा ल्याइने उहाँको भनाइ छ।
कार्यक्रममा मुख्यमन्त्री बानियाँले यातायात व्यवसायीप्रति सरकारको सकारात्मक दृष्टिकोण रहने भन्दै उत्साहजनक वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संघीय सरकारसँग समन्वय गरी जीर्ण अवस्थामा रहेका राष्ट्रिय राजमार्गहरूको मर्मत र पथलैया–हेटौंडा–नारायणगढ सडक खण्डको छिटो विस्तारको पहल गर्ने बताउनुभयो।
मुख्यमन्त्री बानियाँले लोकतन्त्रमा निजी क्षेत्र विकासको मूल मेरुदण्ड भएको उल्लेख गर्दै निजी क्षेत्रले राज्यप्रति विश्वास गर्नसक्ने वातावरण बनाउन प्रदेश सरकार कटिबद्ध रहेको जानकारी दिनुभयो। बागमती प्रदेशमा रहेका धेरै यातायात व्यवसाय र तीसँग सम्बन्धित समस्याहरूलाई समाधान गर्ने कामलाई प्राथमिकतामा राखिने उहाँको भनाइ थियो।
कार्यक्रममा नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले पञ्जीकरण प्रक्रियाबाट सुरु हुने गरेको भ्रष्टाचारप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई अन्त्य गर्न आग्रह गर्नुभयो। साथै, हेटौंडाको सडक विस्तारको कार्यलाई तीव्र बनाउन पनि मुख्यमन्त्रीसँग आग्रह गर्नुभयो।
कार्यक्रममा संघका महासचिव सरोज खनाल, सल्लाहकार माइकल रामचन्द्र अर्याल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट लगायतको उपस्थिति रहेको थियो।






















