हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकारको गठनसँगै आठ जना मन्त्रीहरूले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले उनीहरूलाई शपथ गराएका हुन्।
नवनियुक्त मन्त्रीहरूमध्ये ६ जना नेकपा एमाले र २ जना नेपाली कांग्रेसबाट छन्। मुख्यमन्त्री बानियाँले एमालेबाट मधुसुदन पौडेललाई कृषि तथा पशुपंछी विकासमन्त्री, डा. दिनेश चन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकासमन्त्री, जयराम थापालाई श्रम, रोजगार तथा यातायातमन्त्री, भरतबहादुर केसीलाई वन तथा वातावरणमन्त्री, किरण थापालाई स्वास्थ्य मन्त्री र बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री पदमा नियुक्त गरेका छन्।
नेपाली कांग्रेसको तर्फबाट कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्री बनाइएको छ भने शिवराज अधिकारीलाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ।
प्रदेशमा कुल १४ मन्त्रालयमध्ये कांग्रेसले २ मन्त्रालय पाएको छ भने बाँकी ५ मन्त्रालय भने मुख्यमन्त्री बानियाँले आफ्नै मातहत राखेका छन्।

























