हेटौंडा । मकवानपुर जिल्लामा लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले छुट्टाछुट्टै स्थानबाट चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन र ट्रामाडोल जस्ता लागूऔषध बरामद गरिएको छ।
प्रहरीका अनुसार मिति २०८२ साउन १७ गते साँझ करिब ६ बजे वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–५ पिप्लेचोकस्थित कान्तीराज लोकपथ सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा ना.३५ प ६७१२ नम्बरको स्कुटरमा सवार दुई जनालाई नियन्त्रणमा लिएको थियो।
स्कुटर चालक हेटौंडा–५ बस्ने २१ वर्षीय युवक र पछाडि सवार हेटौंडा–६ का ३८ वर्षीय पुरुषको खानतलासी गर्दा उनीहरूको साथबाट ५२० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद भएको हो। दुवै जनालाई नियन्त्रणमा लिएर लागूऔषध मुद्दामा म्याद लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
त्यसैगरी, साउन १६ गते दिउँसो १२:१० बजे लागूऔषध कारोबार भईरहेको सूचना पाएपछि वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको टोलीले हेटौंडा–२ स्थित लोकप्रिय चोक नजिकैको गणेश मन्दिर अगाडिबाट दुई जनालाई पक्राउ गरेको हो।
मनहरी गाउँपालिका–१ स्थायी घर भई हाल हेटौंडा–२ मा डेरा गरी बस्ने २० वर्षीय युवक र १९ वर्षीय युवकको साथबाट १५७ क्याप्सुल ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ। उनीहरूलाई पनि लागूऔषध मुद्दामा म्याद लिई अनुसन्धान भइरहेको छ।





















