मकवानपुर: सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ का विकट बस्तीहरूमा केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेको छ। वडाभित्र विद्युत् सेवा विस्तार हुन बाँकी रहेका उत्तरी क्षेत्रका बस्तीहरूमा लाइन विस्तार गरिएको स्थानीय युवा नेता पवन वाईबाले जानकारी दिएका छन्।
वाईबाका अनुसार लामो समयको प्रतीक्षापछि वडा नं. १ को विकट मानिने कोक्टी, तिनतले, कर्मिडाँडा, शिकरकट्टी र भोक्टेनीमा केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेको हो।
“लामो समयको प्रतीक्षापछि अन्ततः हरिहरपुरगढी गाउँपालिका–१ का विकट मानिने उत्तरी क्षेत्रका कोक्टी, तिनतले, कर्मिडाँडा, शिकरकट्टी र भोक्टेनीमा केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेको छ। यससँगै स्थानीयवासीमा खुसीयाली छाएको छ। भौगोलिक कठिनाइका कारण ढिलै भए पनि बस्तीमा विद्युत् सेवा पुगेको छ,” वाईबाले भने।
हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबाको विशेष पहल र सक्रियतामा विद्युत् विस्तार गरिएको हो।विध्युत विस्तार कार्यक्रममा हरिहरपुरगढी गाउँपालिका–१ का पूर्ववडाध्यक्ष रमेश घलान तथा वडा सदस्यहरू सुशील घिसिङ र चक्रमान स्याङ्बोको उपस्थिति रहेको थियो।
विद्युत् सेवा विस्तारसँगै यस क्षेत्रका स्थानीयवासीलाई दैनिक जनजीवन सहज बनाउन तथा स्थानीय विकासका गतिविधिलाई थप गति दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।























