स्थानीयको सक्रियतामा चम्किँदै अम्बास गढी, भोलि राष्ट्रिय झन्डा राखिने

मकवानपुर: बकैया गाउँपालिका–१० मा रहेको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको अम्बास गढी स्थानीयवासीको सक्रियतामा सजिन थालेको छ। गढीको संरक्षण, सौन्दर्यीकरण र पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीयवासी अभियानमा जुटेका हुन्।

अहिले अम्बास गढी परिसरमा रङरोगन गर्ने तथा लुङ्दा लगाउने कार्य सुरु गरिएको छ। यसले गढीको वातावरणलाई थप आकर्षक बनाउनुका साथै यसको धार्मिक तथा सांस्कृतिक महत्त्व झल्काउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसैगरी, गढी परिसरमा राष्ट्रिय झन्डा राख्ने तयारीस्वरूप पोल उठाउने कार्यसमेत सम्पन्न भइसकेको स्थानीय सोमराज भोलनले जानकारी दिनुभयो। उहाँका अनुसार भोलि राष्ट्रिय झन्डा राख्ने तयारी गरिएको छ।

स्थानीयको सामूहिक पहलमा अघि बढाइएको यस अभियानको मुख्य उद्देश्य अम्बास गढीको ऐतिहासिक पहिचान जोगाउनु, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्नु र यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सम्भावना उजागर गर्नु हो।

स्थानीयवासीको श्रम, सहभागिता र सहकार्यबाट अघि बढिरहेको अभियानले सार्वजनिक सम्पदाको संरक्षणमा समुदायको भूमिका महत्त्वपूर्ण हुने सन्देशसमेत दिएको छ। अम्बास गढीलाई थप व्यवस्थित र आकर्षक बनाउन स्थानीयस्तरबाट भइरहेको यो प्रयासले सम्बन्धित निकायको ध्यानाकर्षण गर्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

स्थानीयको सक्रियतामा भइरहेको संरक्षण तथा सौन्दर्यीकरण अभियानले अम्बास गढीको पहिचानलाई थप उजागर गर्ने र भावी पुस्ताका लागि यसको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व जोगाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.