हेटौँडा । मकवानपुर जिल्लामा प्रहरीले छुट्टाछुट्टै स्थानमा सञ्चालन गरेको अभियानमा ठूलो परिमाणमा लागुऔषध बरामद गर्नुका साथै १० जनालाई पक्राउ गरेको छ।
११२ किलो ७९० ग्राम गाँजासहित ३ जना पक्राउ
भदौ १५ गते बिहान करिब ४:१५ बजे बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र प्रहरी चौकी बसामाडीबाट खटिएको संयुक्त टोलीले हेटौँडा–३ बसामाडीस्थित पूर्व–पश्चिम राजमार्गमा जाँच गर्ने क्रममा बा.प्र.०१-००२ ज ६५४९ नं.को EV गाडी रोकी तलासी गर्दा ११२ किलो ७९० ग्राम गाँजा बरामद गरेको हो। उक्त गाडी चालकसहित तीन जना युवालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
२६ किलो १० ग्राम गाँजासहित ३ जना पक्राउ
भदौ १५ गते बिहान करिब ४:५० बजे सोही टोलीले बसामाडी चौकी अगाडि बा.प्र.०६-००१ ज ०५०३ नं.को यात्रुबाहक EV गाडी चेकजाँच गर्दा यात्रुहरूले बोकेको झोलामा लुकाइएका २६ किलो १० ग्राम गाँजा फेला परेको छ। यस क्रममा राक्सीराङ–१ का ३० वर्षीय प्रेमराज मोक्तानसहित तीन जना पक्राउ परेका छन्।
हेरोईनसहित ४ जना पक्राउ
यसअघि भदौ १३ गते दिउँसो करिब २:१५ बजे हेटौँडा–११ थानाभर्याङस्थित कबि कार्कीको कोठामा खानतलासी गर्दा १ ग्राम २६० मिलिग्राम खैरो हेरोईन बरामद भएको थियो। घटनामा कोठा मालिकसहित चार जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद गरिएको सबै लागुऔषध र पक्राउ परेका व्यक्तिहरूमाथि मकवानपुर जिल्ला अदालत हेटौँडाबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ।

























