मकवानपुर: मकवानपुरको बागमती गाउँपालिकामा आज बैशाख १७ गतेदेखि आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु हुँदैछ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समिति र सर्लाहीको बागमती युथ क्लब भिड्दै छन् । खेल बिहीवार दिउँसो ३:३० बजे बागमती-४ स्थित सहिद स्मृति रंगशालामा हुनेछ ।
प्रतियोगिता अन्तर्गत भोलि बैशाख १८ गते त्रिभुवन आर्मी क्लब काठमाडौं र बाराको नव जनजागृती क्लब, १९ गते विभागीय सशस्त्र प्रहरी बलको एपीएफ र चित्लाङ एफसी, काठमाडौं, २० गते बाई पाएका ललितपुरको चर्च ब्वाइजले आयोजक र बागमती युथ क्लब बीच प्रतिस्पर्धा हुनेछ।
यस्तै २१ गते ललितपुरको फ्रेन्ड्स क्लब र प्लानिङ ब्वाइज युनाइटेड, २२ गते बाई पाएका मछिन्द्र क्लब, काठमाडौंले एपीएफ र चित्लाङ बीचको विजेतासँग खेल्नेछ। प्रतियोगिताको सेमिफाइनल खेल २३ गते र २४ गते हुनेछ भने फाइनल खेल बैशाख २६ गते हुनेछ।
प्रतियोगितामा आयोजकसहित १० टिम सहभागी हुनेछन्।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ, विधागत उत्कृष्टहरुले २५-२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १०-१० हजार प्राप्त गर्नेछन् ।

























