काठमाडौं । कुथेली बुखरी हाइड्रोपावर लिमिटेडले जेठ १९ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ (IPO) निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात् १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख २१ हजार ८६८ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गर्न लागेको हो ।
दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं. ९ (साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडाहरू) तथा भीमेश्वर नगरपालिका वडा नं. १ (साविकको सुद्रावती गाविसका सम्पूर्ण वडाहरू) का स्थानीय बासिन्दाहरूले यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् ।
स्थानीयसँगै दोस्रो चरणमा सर्वसाधारणमा जारी हुने आईपीओको १० प्रतिशतले हुन आउने १२ लाख १८ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १२ हजार १८६ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागिएको छ ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सकिनेछ । आयोजना प्रभावित स्थानीय बासिन्दाहरूमा यो आईपीओ असार १ गतेसम्म विक्रीमा रहनेछ । यस अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने असार १७ गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने असार १ गतेभित्र आवेदन दिनु पर्नेछ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै स्थानीय बासिन्दाले लक्ष्मी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत आवेदन दिन सकिनेछ ।
यस कम्पनीले दोलखामा ९९८ किलोवाट क्षमताको सुष्पा बुखरी खोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७२ असोज ३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनको कुल लागत २४ करोड ७५ लाख ५७ हजार ३३१ रुपैयाँ छ भने प्रतिमेगावाट लागत २४ करोड ८० लाख ५३ हजार ४३७ रुपैयाँ छ ।


















