
मकवानपुर: मकवानपुरको कैलाश गाउँपालिकामा आगामी चैत १६ गतेबाट तेस्रो संस्करणको उपाध्यक्ष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । गाउँपालिकाको आयोजना तथा कैलाश गाउँपालिका खेलकुद विकास समितिको व्यवस्थापनमा कैलाश गाउँपालिका स्तरिय अन्तर वडा `तेस्रो उपाध्यक्ष कप भलिबल प्रतियोगिता-२०८१´ सञ्चालन हुन लागेको हो ।

बुधबार एक सूचना जारी गर्नुहुँदै कैलाश खेलकुद विकास समितिका संयोजक मोहन वाईबाले प्रतियोगिताबारे जानकारी गराउनुभएको हो । प्रतियोगिताको उद्धघाटन चैत १६ गते दिउँसो १ बजे र समापन चैत १८ गते कैलाश-३, कालिकाटार खेलमैदानमा हुने अध्यक्ष वाईबाले बताउनुभयो । प्रतियोगितामा सहभागीको लागि चैत १३ गते कार्यालय समयभित्र आवश्यक कागजातसहित गाउँपालिकाको शिक्षा शाखामा टिम दर्ता गराउनुपर्ने र खेल तालिका चैत १४ गते दिउँसो ३ बजे सार्वजनिक गरिने आयोजक समितिले जनाएको छ ।
सहभागी खेलाडीहरु सम्बन्धीत वडाको हुनुपर्ने र सोको लागि १६ वर्ष भन्दा माथिको खेलाडीको हकमा नागरिकता प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रहेको, नागरिकता प्रमाणपत्र प्राप्त गर्न बाँकी छ भने सो व्यहोरा उल्लेख गरि सम्वन्धित वडाले सिफारिस गर्नुपर्ने र १६ वर्ष भन्दा कम उमेर समुहको खेलाडीको हकमा भने सक्कल जन्मदर्ता अनिवार्य पेश गर्नुपर्ने जनाएको छ । बसाइँसराईको हकमा सुचना प्रकाशनको मितिले ६ महिना अगाडि सम्बन्धित वडामा अनलाईन दर्ता भएको हुनुपर्नेछ । हरेक वडाको एक टिममा १० खेलाडी, १ कोच, १ मिनेजर र ३ अफिसियल गरि १५ जना हुनुपर्ने सूचनामा उल्लेख छ ।
प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई क्रमशः नगद ७५ हजार र ५० हजार रुपैयाँ पुरस्कारसहित शील्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने र विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ । कैलाश गाउँपालिकाको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको ब्यवस्थापनमा गत फागुन १४ गतेदेखि फागुन १७ गतेसम्म नामटारस्थित खेलमैदानमा तेस्रो अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता सम्पन्न भइसकेको छ।
