सामुहिक बलात्कारको आरोपमा हेटौंडाबाट ७ जना पक्राउ

मकवानपुर: मकवानपुर प्रहरीले सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा ७ जना किशोरहरुलाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका-२ स्थित वनस्खण्डी मन्दिर माथिको जंगलमा गत माघ ६ गते बिहान करिब ८ः३० बजे भएको जबरजस्ती करणी घटनाको सम्बन्धमा पीडित युवतीले फागुन २१ गते प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।

जाहेरीको आधारमा प्रहरीले अनुसन्धान सुरु गरी फागुन २२ गते हेटौंडा उपमहानगरपालिकाका विभिन्न स्थानबाट ५ जना आरोपित किशोरहरुलाई नियन्त्रणमा लिएको थियो । यसै क्रममा फागुन २३ गते थप २ जना आरोपित किशोरहरूलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुर जिल्ला अदालतबाट जबरजस्ती करणी कसुर मुद्दामा ५ दिनको म्याद अनुमति लिई प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका सबै आरोपितहरू १८ वर्ष मुनिका किशोरहरू भएकाले उनीहरूको नाम, थर, वतन र तस्वीर सार्वजनिक गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *