

मकवानपुर- मकवानपुरको कैलाश गाउँपालिकामा आयोजना भएको पालिकास्तरीय अन्तर वडा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी १० नम्बर वडाले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा वडा नम्बर ८ लाई सडनडेथमा ८-७ गोलले हराउँदै १० नम्बरले उपाधी जितेको हो ।
निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ५-५ गोल भएपछि खेलको नजिताको लागि सडनडेथको सहारा लिनुपरेको हो । निर्धारित खेलको १७ औं मिनेटमा १० नम्बरका सुर्य थिङ्गले पहिलो गोल गरेका थिए भने वडा ८ का देवदुत नेगीले २३ औं मिनेटमा गोल फर्काएका थिए । सडनडेथमा ८ नम्बरको अन्तिम प्रहार रोकेका १० नम्बरका गोलरक्षक विशाल वाईबा खेलको म्यान अफ द म्याच घोषित भए ।

विजेता १० नम्बरको टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता ८ नम्बरले ६० हजार रुपैयाँमा चित्त बुझाएको छ। १० नम्बरले लगातार ३ पटक उपाधी जित्दै शिल्ड आफ्नो कब्जामा पारेको हो ।

प्रतियोगितामा उत्कृष्ट उदयीमान खेलाडी ८ नम्बरका विपु मुक्तान, उत्कृष्ट फरवार्ड वडा १० का सागर बल, उत्कृष्ट डिफेन्डर वडा १० सुर्य थिङ्ग, उत्कृष्ट मिडफिल्डर वडा ८ का विपु मुक्तान , सर्वाधिक गोलकर्ता वडा ८ का खेलाडी राजन स्याङ्बो (६गोल), उत्कृष्ट गोलरक्षक वडा १०का विशाल वाइवा र सर्वोत्कृष्ट खेलाडी वडा १० अनित सिंतान घोषित भए । गाउँपालिकाको आयोजना तथा कैलाश गाउँपालिका खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता भएको हो ।
कैलाश खेलकुद विकास समितिका संयोजक मोहन वाइवाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता समापन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल, वडा नम्बर ९ का वडाध्यक्ष भुवन सिं घलान, वडा १० का अध्यक्ष सुर्य बहादुर ब्लोन, वडा ८ का अध्यक्ष आशिष प्रजा, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशी, कालिका माविका प्रअ रामप्रसाद कालाखेती, प्रहरी चौकी नामटारका ईन्चार्ज हिराबहादुर श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
