

मकवानपुर: मकवानपुरको कैलाश गाउँपालिकामा जारी पालिकास्तरीय अन्तर वडा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । शुक्रबार सेमिफाइनलका दुई खेल सम्पन्न भएसँगै प्रतियोगिताको फाइनल खेल्ने टोलिको टुङ्गो लागेको हो ।
प्रतियोगिताको उपाधीका लागि साविक विजेता वडा नम्बर १० र ८ बीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रवार वडा नम्बर ९ नामटारमा अवस्थित खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर वडा नम्बर ७ लाई २-० गोलले हराउँदै १० नम्बर फाइनलमा प्रवेश गरेको हो ।

१० नम्बरको जीतम्व्व सागर बलले खेलको पहिलो १९ औं मिनेट र अनित सिंतान दोस्रो हाफको १९ औँ मिनेटमा एक-एक गोल गरे । खेलको म्यान अफ द म्याच १० नम्बरका साजन जिम्बा घोषित भए ।

१० नम्बर प्रतियोगिताको पहिलो र दोस्रो संस्करणको विजेता टोलि हो ।

यस्तै दोस्रो सेमिफाइनल खेलमा ५ नम्बरलाई १(० गोलले हराउँदै ८ नम्बर फाइनलमा प्रवेश गरेको हो । ८ नम्बरको जीतमा देवदुत नेगिले पहिलो हाफको सातौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच नेगि घोषित भए ।

प्रतियोगिताको उपाधीको लागि शनिबार बिहान ८ बजे १० नम्बर र ८ नम्बर भिड्नेछन् । १० नम्बरलाई लगातार ३ पटक उपाधी आफ्नो कब्जामा पार्ने अवसर छ भने ८ नम्बरलाई पहिलोपटक उपाधी जित्ने अवसर छ ।प्रतियोगिताको विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
