

बागमती: नेपाल शिक्षक महासंघ बागमती गाउँपालिका समितिले गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । मंगलबार महासंघ बागमतीका अध्यक्ष वसन्त राईको नेतृत्वमा गाउँपालिकाका अध्यक्ष सर्केश घलानलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

शिक्षक महासंघको देशव्यापी आन्दोलन अनुसार बागमती समितिले पनि स्थानीय तहका प्रमुखलाई शिक्षा ऐनका लागि ध्यानाकर्षण गराएको हो । शिक्षक कर्मचारीसँग सरकारले पटकपटक गरेका सहमति समेटेर तत्काल नयाँ शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले महासंघले आन्दोलन सुरु गरेको छ ।
ध्यानाकर्षण पत्रमा भनिएको छ `अस्थायी, राहत, साविक उमावि, शिक्षण सिकाइ अनुदान, अस्थायी करार, प्राविधिक धार, विशेष शिक्षा, संस्थागत विद्यालयका शिक्षक लगायत सबै खालका शिक्षक र विद्यालय कर्मचारीका सबै मागहरु सम्बोधन हुने विद्यालय, विद्यार्थी, शिक्षक(कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन ल्याउनु आवश्यक रहेको र विगतमा भएका सबै सहमती सम्बोधन हुने गरी शीघ्रातीशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्ने कामबाट राज्य अझै अनेक बहाना गरी भाग्ने प्रयत्नमा रहेको देखिएको छ ।´
