

बागमती: सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ। शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ ले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
पुर्वप्रधानमन्त्री प्रचण्डले बागमती गाउँपालिकाको आफ्नै लगानीमा निर्मित सहिद स्मृति रंगशालाको पनि उद्घाटन गर्नुभएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समितिको टिमलाई १-० गोलले हराउँदै सर्लाहीको बागमती युवा क्लबले विजय सुरुवात गरेको छ। बागमतीको जीतमा कप्तान विमल घिसिङले खेलको दोस्रो हाफको ३३ औं मिनेटमा निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच घिसिङ घोषित भए ।

प्रतियोगितामा ए डिभिजनका ७ र मोफसलका ३ टिमको सहभागिता छ । आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य दीपक बहादुर सिं, प्रदेश सभा सदस्यहरु प्रेम बहादुर पुलामी, कुमारी मोक्तान र बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान लगायतको आतिथ्यता रहेको थियो ।



