

सिन्धुली: पाँचौ संस्करणको हरिहरपुरगढी गाउँपालिकास्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार ३ खेल सम्पन्न भएको छ। हरिहरपुरगढी-२ स्थित चैनपुर मैदानमा महिलातर्फ १ खेल र पुरुषतर्फ २ खेल सम्पन्न भएको हो ।

सोमबार बिहान भएको पहिलो खेलमा पुरुषतर्फ वडा नम्बर ४ ले ६ लाई ६-१ गोलले हराएको छ । वडा नम्बर ४ को जीतमा सुनिल मोक्तानले खेलको २७ औं, २८ औं, दोस्रो हाफको छैटौं र ३४ औं मिनेटमा गोल गरे । यस्तै वेद बहादुर राना र सौगात राईले एक(एक गोल गरे । खेलको म्यान अफ द म्याच मोक्तान घोषित भए । वडा नम्बर ६ का डुब्साङ लामाले एक गोल फर्काएका थिए ।

यस्तै सोमबारको दोस्रो खेलमा महिलातर्फ वडा नम्बर २ ले ३ लाई टाइब्रेकरमा १-० गोलले हराएको छ । निर्धारित खेल समय गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो ।

यस्तै तेसो खेलमा पुरुषतर्फ वडा नम्बर ५ ले १ नम्बरलाई १-० गोलले हराएको छ । ५ नम्बरको जीतमा रुपेश माझीले निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच माझी घोषित भए ।
पुरुषतर्फको विजेता टिमले १ लाख १ हजार १ सय रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५१ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले ४० हजार १ सय रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २५ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् ।
