हेटौंडा १८ मा “समुदाय स्तरीय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रम”

माघ १५, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८, हर्नामाडीमा आज “समुदाय स्तरीय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रम” सम्पन्न भएको छ । टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा हेटौंडा उपमहानगरपालिका न्यायिक समितिको आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।


कार्यक्रममा अधिवक्ता सुजन तिमल्सिनाले न्यायिक समिति अधिकार , न्याय निरुपण प्रक्रिया र समानुपातिक मेलमिलापका विषयमा प्रशिक्षण दिनुभएको थियो । अधिवक्ता तिमल्सिनाले नेपालमा जारी भएका संविधान र उक्त संविधानको जगमा निमार्ण भएको विभिन्न ऐनहरु मध्ये स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ४७(१) बमोजिम न्यायिक समितिले निरुपण गर्न पाउने विषयहरुमा प्रष्ट्याउनुभयो ।


त्यसैगरी, सुरक्षित आप्रवासन(सामी) कार्यक्रम मकवानपुरकी सूचना तथा परामर्शकर्ता पार्वती विकले वैदेशिक रोजगारीको समग्र अवस्था र सुरक्षित आप्रवासनका विषयमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो । नेपालबाट प्रतिवर्ष करिब ५ लाखबढी श्रमशक्ति श्रम बजारमा प्रवेश गर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै विकले वैदेशिक रोजगारीमा जाने सबैले अनिवार्य रुपमा आफु जाने देश, भिषा,त्यहाँको काम,तलब लगायत श्रम सम्झौताका विषयमा राम्रोसंग बुझेर मात्रै जान सुझाउनुभयो ।

१८ नम्बर वडा टोल विकास समन्वय समितिको सपथ

यसैबिच सोही कार्यक्रमकैबिच टोल विकास संस्था नगर समन्वय समितिले १८ नम्बर वडाको टोल विकास समन्वय समितीमा निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण तथा प्रमाण पत्र वितरण गरिएको छ । निर्वाचित पदाधिकारीहरुलाई वडा अध्यक्ष अनिल कुमार बानियाँले प्रमाणपत्र प्रदान गर्नुभयो । गएको पुष १९ गते सम्पन्न दोस्रो अधिवेशनले विमला विशुंखेको अध्यक्षतामा ११ सदस्यीय टोल विकास समन्वय समिति निर्वाचित भएका थिए ।

oplus_2

कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं १८ नम्बर वडा अध्यक्ष बानियाँले आफ्नो कार्यकालभरिमा टोल विकास संस्थालाई सहयोग गर्ने जिकिर गर्नुभयो । उहाँले संस्थालाई अझै सक्रिय बनाउन पहिले टोल विकासबाट सिफारिस भएपछि मात्रै वडाले आफ्नो कार्य गर्ने बताउनुभयो । अध्यक्ष बानियाँले निष्कृयलाई खारेजी गर्दै नयाँ निमार्ण गर्ने र सकृय साथै उत्कृष्ट टोल विकास संस्थालाई पुरस्कारको पनि व्यवस्था हुने बताउनुभयो ।

मेलमिलाप केन्द्रका संयोजक यदुवंश खतिवडाले न्यायिक समितिलाई प्राप्त विवाद/मुद्धाहरु मेलमिलापका माध्यमबाट निरुपण गर्ने अधिकार रहेको जनाउनुभयो । उहाँले हरेक टोल टोलमा हुने सामान्य विषयका विवाद, मुद्धाहरु लिएर अदालत धाउनुभन्दा न्यायिक समिति र मेलमिलापबाटै निशुल्क रुपमा हल गर्न सहयोग पुग्ने हेतुले आजको कार्यक्रम आयोजना गरिएको पनि जानकारी दिनुभयो ।


टोल विकास नगर समन्वय समितिका अध्यक्ष धुव्र प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ज्योति माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेल, टोल विकास नगर समन्वय समितिका सदस्य लोकेन्द्र सुर्खेती, १८ नम्बर वडाका मेलमिलाप संयोजक निर्मला न्यौपाने, टोल विकास संस्थाका प्रतिनिधि, सामुदायिक वन समूहका प्रतिनिधी, शिक्षक तथा स्वास्थ्यस्वयंसेविकाहरुहरुको सहभागिता रहेको थियो ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.