
बागमती: पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपिभी भाइरस विरुद्धको खोप यही माघ २२ गतेदेखि देशव्यापी लगाइँदै छ । सोही अभियान अन्तर्गत बागमती गाउँपालिकामा पनि खोप लगाउनका लागि तयारी पूरा भएको छ ।
बुधबार पालिकास्तरिय खोप समन्वय समिति, सरोकारवाला, जनप्रतिनिधि र पत्रकारहरुका लागि अभिमुखिकरण भएको छ । अभिमुखिकरणमा जनस्वास्थ्य कार्यालय मकवानपुरका खोप फोकल पर्सन वासुदेव रिमालले खोप कार्यक्रमका बारेमा प्रस्तुती राख्नुभएको छ । उहाँले विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिरका १० देखि १४ वर्षसम्मका किशोरीहरुलाई खोप दिने बताउनुभयो ।
बागमतीमा यस पटक २६ स्वास्थ्य केन्द्रबाट किशोरीहरुलाई एचपिभी खोप लगाउने तयारी भएको छ । १७ विद्यालय र अन्य ९ वटा केन्द्रबाट खोप लगाउने भएको हो । पालिकाभरी १ हजार ४ सय ८५ जना किशोरीहरुलाई खोप दिने भएको छ । जसका लागि २८ जना स्वास्थ्यकर्मी र ५६ जना स्वयंसेवक खट्नेछन् । माघ २८ गतेसम्म चल्ने खोप अभियानमा समय नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सकिनेछ ।
बागमतीमा पहिलो दिन वडा नम्बर ५ स्थित देवकी माविमा नजिकका विद्यालयका विद्यार्थीहरुसमेतको उपस्थिती खोप अभियानको उद्घाटन गर्ने भएको छ । बुधबार भएको अभिमुखकरणको सहजीकरण योगेस घलानले गर्नुभएको थियो भने सिनियर अनमी सुजिता जिरेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा वडाहरु र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।
