
बागमतीः मकवानपुरको बागमती गाँउपालिकाका ३ विद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । मंगलबार एकै दिन बागमती गाँउपालिका वडा नं ३ का ३ विद्यालयमा अध्ययनरत ६६ जना सहयोगापेक्षी विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।

बागमती गाँउपालिका वडा नं ३ गढनसिर स्थित फुलमन्दिर आधारभुत विद्यालयमा अध्ययनरत सहयोगापेक्षी विद्यार्थीहरुलाई स्वीटर, टोपी, जुत्ता, झोला र कपी वितरण गरिएको हो । सो विद्यालयमा २३ जना विद्यार्थी रहेकोमा नियमित जम्मा ११ जना पढ्न आउने गरेको फुलमन्दिर आधारभुत विद्यालयका प्रधानाध्यापक दिप बहादुर पाख्रीनले जानकारी दिनुभयो ।

यसैगरी वडा नं ३ गढन स्थित जनश्रम आधारभुत विद्यालयमा अध्ययनरत २३ जना सहयोगापेक्षी विद्यार्थीहरुलाई स्वीटर, टोपी, जुत्ता, झोला र कपी वितरण गरिएको छ । यस्तै, जनप्रभात आधारभुत विद्यालयका ३२ जना विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।
कार्यक्रममा बागमती गाँउपालिकाका प्रवक्ता तथा वडा नं ३ का वडाध्यक्ष कमान सिं पाख्रीनको प्रमुख आतिथ्यता रहेको थियो । उहाँले मानव कल्याण हेतु गरिएको सामाजिक कामका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो । नेपालको दुर्गम ठाँउ कर्णालीलाई मानिने बताउदैं गढनसिर मकवानपुरको सबैभन्दा पुरानो र दुर्गम क्षेत्र भएको पाख्रीनले बताउनुभयो । पहिले बेसिमा औलो लाग्ने हुनाले लेकमा बसाईसराई गरेको बस्ती वर्तमान परिपेक्षमा सो ठाँउ झन विकट हुन पुगेको उहाँले जानकारी दिनुभयो । गाउँपालिका र वडाको पहलमा अहिले सेवा विस्तार गरिरहेको उहाँको भनाई छ ।

डिभाइन युथ क्लब नेपाल हेटौंडा तथा जगद्गुरुत्तम मन्दिर अध्यात्म केन्द्रको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । चिसो र शैक्षिक सामग्री अभाव भएका कारण बालबालिकाको पठनपाठन प्रभावति नहोस् भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो । डिभाईन युथ क्लब नेपालले वर्षेनी यस्तै कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा बागमती गाँउपालिकाका पशु स्वास्थ्य प्राविधिक राजेन्द्र गोले, बागमती गाँउपालिकाका कार्यपालिका सदस्य एवं वडा नं ३ का वडा सदस्य भगवती माझी र वडा नं ३ का वडा सदस्य तुल बहादुर मोक्तानको आतिथ्यता रहेको थियो ।
