
मकवानपुर: मकवानपुर प्रहरीले लागुऔषध चरेश २१ किलो ४ सय ६० ग्राम र अफिम ३ किलो ४ सय ७० ग्रामसहित २ जना भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ । आइतबार बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरले कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त लागुऔषधसहित पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो ।

शनिबार बिहान २ बजेको समयमा मकवानपुरको थाहा नगरपालिका(११, टिस्टुङ नौखण्डेस्थित त्रिभुवन राजपथ सडकखण्डबाट हेटौंडा हुँदै भारततर्फ लागु औषध ओसार पोसार भइहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट प्रहरी टोली खटिएका थिए ।

प्रहरीले उक्त स्थानमा सवारी साधनहरु रोक्ने क्रममा डिएल ८ सिएक्स १२२४ नम्बरको कारलाई सुरक्षाजाँच गर्दा चालक भारतको हरियाणा राज्यका २५ वर्षीय कुनाल गोथ्वाल र सोही ठाउँका २० वर्षीय मनिस कुमारलाई शंका लागेर रितपुर्वक खानतलासी गर्दा कार भित्र लुकाई छिपाई गरी ल्याईएको अवस्थामा उक्त लागु औषध फेला परेको हो । पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।
