हेटौंडा १८ नम्बर वडा बालश्रम मुक्त वडा घोषणा हुने

पुष २६, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ बालश्रम मुक्त वडा घोषणा हुने भएको छ । वडा कार्यालयले आज शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि यहि माघ ४ गते वडालाई निकृष्ट बालश्रम मुक्त,बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने जनाएको हो ।
बालश्रममुक्त वडा घोषणा कार्यक्रमको उद्धघाटन हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामाले गर्नुहुनेछ । वडा सदस्य योगराज खतिवडाका अनुसार वडाले बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरु पूरा गर्न सफल भएकोले वडालाई बालश्रम मुक्त वडा घोषणा गर्ने अवस्थामा आईपुगेको जनाउनुभयो । घोषणा समारोह आयोजना गर्न करिब ६ लाख रुपैयाँ खर्च लाग्ने उहाँको भनाई छ ।
यसअघि १८ नम्बर वडा पूर्ण खोप, पूर्ण साक्षर, खुला दिशामुक्त वडा घोषणा भईसकेको छ । नेपाल सरकारले २०८७ सालसम्ममा सबै स्थानीय तहहरुलाई बालमैत्री स्थानीय तहको रुपमा घोषणा गर्ने लक्ष्य लिए अनुरुप हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाहरुले धमाधम बालश्रममुक्त वडा घोषणा गरिरहेका छन् ।
यस १८ नम्बर वडामा २०७९ को घरधुरी सर्वेक्षणमा १८ वर्ष मूनिका बालबालिकाको जनसंख्या ३ हजार २ सय ७४ रहेको छ । जसमा १ हजार ६ सय ९१ जना बालक र १ हजार ५ सय ८३ जना बालिका रहेका छन् ।

यसैगरी बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा पूर्व सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आर्थिक वर्ष २०८०÷०८१ मा वडाबाट विनियोजित बजेटबाट सम्पन्न भएका कार्यक्रमबारे प्रतिवेदन पेश गरिएको थियो ।
प्रतिवेदन पेश गर्दै वडा सचिव महेश पुडाशैनीले हेटौंडा उपमहानगरपालिकामध्ये १८ नम्बर वडाले शैक्षिक क्षेत्रमा सबैभन्दाबढी लगानी गरेको बताउनुभयो । उहाँले बालमैत्री वडा घोषणा कार्यक्रम पूर्वका अभिमुखीकरण, शैक्षिक सुधार तथा विद्यार्थी प्रोत्साहन कार्यक्रम, शिक्षक तालिम, युवा तथा खेलकुद, विद्यालय मर्मत तथा सुधार लगायत कार्यक्रममा ८७ लाख ८१ हजार १ सय ९० रुपैयाँ बजेट खर्च भएको बताउनुभयो ।
वडा सदस्य एवं कार्यक्रमका सभापति योगराज खतिवडाले वडाबाट विनियोजित बजेट बालबालिकाकै निम्ति खर्च गर्न पाउँदा खुशी लागेको बताउनुभयो । यहाँका प्रत्येक विद्यालयहरुमा स्रोत साधन सम्पन्न बाल उद्यानहरुका विषयमा आगामी योजनामा समावेश गरिने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा अर्का वडा सदस्य तोयानाथ तिमल्सिना, बालमैत्री नगर सहजकर्ता सपना ढुंगाना, ज्योति माविका प्रधानाध्यापक हर्क रम्तेल, गोरक्ष माविका मिना श्रेष्ठ, कमला अधारभूत विद्यालयका प्रधानाध्यापक गोविन्द उप्रेती,टोल विकास वडा समन्वय समिति अध्यक्ष विमला विशुंखे, महिला जागरण संस्था हर्नामाडीका अध्यक्ष तेजकुमारी न्यौपाने, विभिन्न टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.