
बागमतीः मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर २ राईगाउँस्थित बागमती माविका विद्यार्थीहरुलाई जनप्रतिनिधिले लत्ताकपडा सहयोग गरेको छ । शुक्रबार विद्यालयको छात्रबासमा बसोबास गर्दै आइरहेका विद्यार्थीहरुलाई जनप्रतिनिधिहरुले एक महिनाको मासिक भत्ताबाट लत्ताकपडा सहयोग गरेको हो ।

बागमती–२ का वडाध्यक्ष जनक बहादुर पहरी, कार्यपालिका सदस्य अम्बिका विक, बागमती–२ का वडा सदस्यहरु राजु तितुङ, कृष्ण बहादुर श्रेष्ठ , शनि माया जिम्बा र वडा सचिव उर्मिला सिंन्तानको १ महिनाको भत्ता रकमबाट विद्यालयको छात्रबासमा बस्दै आइरहेका २२ जना विद्यार्थीहरुलाई १० थान सिरक, १० थान डसना, १० थान म्याट र १० थान तन्ना वितरण गरिएको हो । कपडा वितरण गर्नुहुँदै वडाध्यक्ष पहरीले आफुहरुले हिउँदको समयमा भइरहेको चिसोलाई ख्याल गर्दै राहत स्वरुप कपडा वितरण गरेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितीकी अध्यक्ष बच्छु गोले खड्का र प्रधानाध्यापक बुद्धि प्रसाद रिजाललाई जनप्रतिनिधिहरुले लत्ताकपडा हस्तान्तरण गरिएको छ । कपडा वितरण कार्यक्रममा बागमती–२ का समाजसेवी युवा राजकुमार सेन्चुरी लगायतको उपस्तिथि रहेको थियो ।
