
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिकामा मान्छे खाने बाघलाई नियन्त्रणमा लिएको छ । मंगलबार साँझ ७ः१० बजे खोजतलास गर्ने क्रममा मनहरी–५, बसन्तपुर स्थित सुकौरा खोलाबाट बाघलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आइतबार सोही ठाउँकी ७२ वर्षीय वृद्वा कान्छीमाया रुम्बा घर नजिकै बारीमा घाँस काट्न गएकोमा बाघले खाएको अवस्थामा मृत भेटिएको थियो । सोमबारदेखी उक्त बाघको खोजतलाशको लागि पर्सा वन्यजन्तु आरक्षण, चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको बाघ नियन्त्रण प्राबिधिक टोली ४ जना र निकुञ्ज सुरक्षार्थ मनहरी–३ लामिटार बेशबाट खटिएको नेपाली सेनाको मेजर ढलक बहादुर मोक्तानसहित ४ वटा हात्तीको टोली खटिएका थिए ।
उक्त बाघलाई खोजतलास गर्ने क्रममा सुकौरा खोलामा फेला पारी एम्बुस थापी बन्दुकबाट लट्याउने सुई लगाई (डाट प्रविधिद्धारा) नियन्त्रणमा लिएको हो । बाघलाई पर्सा बन्यजन्तु आरक्षण लगिएको जनाएको छ । मनहरीमा समयसमयमा बाघ, भालु र जंगली हात्तीले आतंक मच्चाउँदै आइरहेको छ ।
