
मकवानपुर : मकवानपुरको मनहरी गाउँपालिका–५, बसन्तपुरमा बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । आइतबार साँझ घर नजिकै घाँस काट्न गएकी ७२ वर्षीया कान्छीमाया रुम्बाको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बाघको आक्रमणबाट टाउको र पेटमा केही भाग खाएको अवस्थामा वृद्धाको शव भेटिएको हो । मनहरी गाउँपालिका पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको रुपमा रहेको छ ।
वन्यजन्तुको आक्रमणका लागि उच्च मानव वस्ती जोखिममा रहेका छन् । केही समयअघि रोगी बाघलाई भैंसीले आक्रमण गरेर मारेको घटनाले समेत मनहरी चर्चामा रहेको थियो । वन्यजन्तुको बढ्दो आक्रमणबाट स्थानीय त्रसित छन् ।
