बागमती गाउँपालिकामै पहिलो पटक निःशुल्क भिडियो एक्सरे सेवा

बागमतीः बागमती गाउँपालिकामा पहिलो पटक भिडियो एक्सरे सेवा सुरु भएको छ । राईगाउँ स्वास्थ्य चौकीबाट गर्भवति महिलाहरुको लागि नि:शुल्क भिडियो एक्सरे सेवा सुरु भएको हो । यो सेवा पालिकाभरीमै पहिलो पटक हो ।


गएको पुस ५ गते बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामी, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान र वडा नम्बर २ का वडाध्यक्ष जनक पहरीको उपस्थितिमा स्वास्थ्यचौकीलाई एक्सरे मेसिन हस्तान्तरण गरेसँगै सेवा प्रवाह भइरहेको छ । गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख दिनेश गुप्ताका अनुसार गाउँपालिकाले सुरु गरेको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम अन्तर्गत सम्पूर्ण गर्भवतिका लागि सेवा उपलब्ध गराउन सुरु गरिएको हो । यसले पालिकाभित्रका गर्भवति महिलाहरु लाभान्वित भएका छन् ।


गर्भवती तथा गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जाँच गर्न जिल्ला अस्पताल तथा अन्य स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाले गाउँमै ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम कार्यान्व्यन गरी भिडियो एक्सरेको घुम्ती सेवा सञ्चालन गरिएको हो । यसले गर्भको जटिलता समयमै पत्ता लाग्ने र मातृमृत्युदर कम हुने उहाँको भनाई छ । सेवा सुरु गरेको पहिलो दिन २१ जनाले सेवा लिएको प्रमुख गुप्ताले बताउनुभयो । यस्तै आइतबार माझगाउँ आधारभूत स्वास्थ्य केन्द्रमा भएको कार्यक्रममा ७ जनाले सेवा लिएका छन् । प्रमुख गुप्ताका अनुसार मंगलबार वडा नम्बर ७ मा कार्यक्रम सञ्चालन हुनेछ ।


यस्तै गाउँपालिकाका अध्यक्ष सर्केश घलानले आधारभूत स्वास्थ्य केन्द्रबाट पालिकाभित्रका सबै वडाबाट नि:शुल्क भिडियो एक्सरे सेवा प्रवाह गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले आवश्यकताका आधारमा अन्य स्थानमा पनि सुरु गर्ने बताउनुभएको छ । त्यसपछि २४ सै घण्टा सेवा प्रवाह गर्ने गरी तयारी गर्ने पनि उहाँको भनाई छ । यसले गर्भवतीको स्वास्थ्य जाँचका लागि अन्यत्र अस्पतालसम्म धाउनुपर्ने अवस्था हट्ने उहाँको भनाई छ ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.