
मकवानपुरः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रतिनिधि सभा सांसद पद स्वत निलम्बनमा परेको छ ।
लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता भएको छ । सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार मुद्दा दर्तापछि पद स्वत निलम्बन हुने व्यवस्था छ ।
संघीय संसद सचिवालयका एक उच्चपदस्थ अधिकारीले पनि सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएसँगै लामिछानेको सांसद पद निलम्बनमा पर्ने बताए । सरकारी वकिल कार्यालयले रविसँग सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ को बिगो माग गरेको छ ।
लामिछानेसँग सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा गरी कूल ३० करोड ७१ लाखभन्दा बढी बिगो दाबी भएको छ । गत कात्तिक २ गते पक्राउ परेका लामिछानेविरूद्ध आइतबार अदालतमा मुद्दा दर्ता भएको हो ।
