
मकवानपुरः पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर दुई बलमा पाँच विकेट गुमाएर भेटायो ।
जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले ८७ रन बनाए । यस्तै कप्तान आशिफ शेखले ३३ र हर्ष थाकरले अविजित ३० रन बनाए । सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी, स्कट कुगेलेइन, सैफ जैब र इसान पाण्डेले समान एक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ८४ रन बनायो । सुदूरपश्चिमका लागि सैफ जैबले सबैभन्दा धेरै ६९ रन बनाए । यस्तै विनादे भण्डारीले ४१ रन बनाए । जनकपुरका महोम्मद मोसिन र किशोर महतोले समान तीन विकेट लिए । यस्तै ललित राजवंशी र जेम्स निशमले समान एक विकेट लिए ।
सुदूरपश्चिम अङ्कतालिकामा शीर्ष र जनकपुर दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो । यसअघि लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले र पहिलो क्वालिफायरमा आठ विकेटले हराएको थियो । एनपीएल विजेता जनकपुर बोल्ट्सले ट्रफीसहित एक करोड १० लाख तथा दोस्रो भएको सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै तेस्रो टोली कणर्ाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एनपीएलको आयोजना गरेको हो । गएको मंसिर १५ गतेदेखि शुरु भएको प्रतियोगितामा आठ टोली सहभागी थिए । घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगितामा फाइनलमा पुगेका सुदूरपश्चिम र जनकपुरसहित विराटनगर किङ्स, चितवन राइनोज, काठमाण्डौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र कणर्ाली याक्स रहेका थिए ।

एनपीएल सकिएसँगै विभिन्न विधामा अवार्डहरू पनि वितरण गरिएको छ । जस अनुसार प्लेयर अफ दि टुर्नामेण्ट सुदूरपश्चिम रोएल्सका सेफ अली जैबले हात पारे । उनले ५ लाख रुपैयाँ प्राव्त गरेका छन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडी सुदूरपश्चिमकै दीपेन्द्रसिंह ऐरी बने । उनले ओमोडा ईभी कार पुरस्कार प्राप्त गरेका छन् । एनपीएलको सर्वोत्कृष्ट बलर ललित राजवंशी घोषित भए । उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै, कणर्ाली याक्सका बिपिन प्रसाद शर्माले इमर्जिङ प्लेयरको उपाधि हात पारेका छन् । उनले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाएका छन् । इनर्जेटिक प्लेयर अफ द टुर्नामेण्ट जनकपुरका जिमी नीशम घोषित भए । उनले २ लाख रूपैयाँ प्राप्त गरेका छन् । अत्यधिक चौका अवार्ड लाहिरु मिलान्थाले पाएका छन् भने फेयर प्ले अवार्ड लुम्बिनी लायन्स टिमले प्राप्त गरेको छ ।
