
मकवानपुरः बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले जिल्ला समन्वय समितिले चुस्त, दुरुस्त कार्य सम्पादन गर्न समन्वयात्मक भूमिकामा रहेर निर्देशकको भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।
जिल्ला समन्वय समिति मकवानपुरको वार्षीक समीक्षा कार्यक्रममा बुधबार प्रदेश प्रमुख देवकोटाले यस्तो बताएका हुन् । व्यक्तिले शान्त र एक्लै भएको बेला आफ्नो ब्रम्हले उचित र निष्पक्ष कार्य गरेको स्वमुल्याङ्कन गरेर गर्व महसुस गर्ने गरी काम गर्नु पर्ने देवकोटाले बताए ।
नेपालको संविधान (२०७२) को धारा २२० ले निर्दिष्ट गरे अनुसार समन्वय समितिको गठनको ब्यवस्था छ । यस अनुसार जिल्लामा रहेका स्थानीय तहहरुलाई समन्वयकारी भूमिका निर्वाह गर्न उनले निर्देशन दिए । राज्यका तीनै तहसङ्ग समन्वय, विकास निर्माण अनुगमन, प्रकोप तथा बिपत् ब्यवस्थापन समन्वयमा समेत चुस्त रहनु पर्ने उनले सुझाव दिए ।
बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाको भौगोलिक अवस्था अवलोकन सहित कम्तीमा जिल्ला सदरमुकामसम्म पुग्ने ईच्छा रहेको बताउँदै प्रमुख देवकोटाले जिल्लागत अवस्था बुझ्ने पहिलो मौका मकवानपुरले दिएकोमा खुसी समेत व्यक्त गरे । कार्यक्रममा मकवानपुर जिल्लाका १० वटा स्थानीय तहहरुको वार्षिक कार्य प्रगती अवसर चुनौती तथा आर्थिक सवालमा समिक्षात्मक प्रस्तुती गरिएको थियो ।
कार्यक्रममा मकवानपुरमा रहेर विभिन्न क्षेत्रमा गरेको योगदानको कदर गर्दै १३ बिधाका २४ जनालाई सम्मान गरिएको थियो । पत्रकारीतातर्फ भावना रिजाल तथा गणेश दर्पण अधिकारीलाई सम्मान गरिएको जिल्ला समन्वय अधिकारी शान्ति विश्वकर्माले बताइन् । यसैगरी सहकारी, गैसस, कर्मचारी, बिद्यालय, सामुदायिक वन, स्वास्थ स्वयम सेविकालगायतका विधामा सम्मान गरिएको थियो ।
यसैगरी हालै सम्पन्न पत्रकार महासंघ जिल्ला प्रदेश तथा केन्द्रको निर्वाचनमा मकवानपुर जिल्लाबाट नेतृत्व गरेका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान तथा बधाइ कार्यक्रम समेत गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुर सभापति ललित घलानको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा पूर्व मन्त्रीहरु कुमारी मोक्तान, एकालाल श्रेष्ठ तथा पूर्व सांसद प्रेम बहादुर पुलामी समेतको उपस्थति रहेको थियो ।
