
मकवानपुरः नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि शुक्रबार निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । पटक-पटक मिति तोकिएर पनि सर्दै आएको निर्वाचन कार्यक्रम अन्ततः शुक्रबार सम्पन्न भएको हो ।
शुक्रबार सम्पन्न निर्वाचनबाट बागमती प्रदेश समितिको अध्यक्षमा मकवानपुरका कृष्ण सारु मगर निर्वाचित हुनुभएको छ । कृष्ण सारु मगरले नुवाकोटका शिव देवकोटालाई पराजित गर्नुभएको हो । यसअघि २ कार्यकाल महासचिवको जिम्मेवारी सम्हाल्नु भएका कृष्णले वर्तमान अध्यक्ष शिवलाई पराजित गर्नुभएको हो । बागमती प्रदेश उपाध्यक्षमा मकवानपुरका हरी हुमागाई, सदस्यहरुमा उज्वल अधिकारी, ज्ञानेन्द्र तामाङ र सुवणर्लाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न निर्वाचनमा बागमती प्रदेशका १० जिल्लाका ९५१ सदस्य मध्ये ८३६ जनाले मतदान गरेका थिए ।

यता नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरको अध्यक्षमा बालकृष्ण अधिकारी निर्वाचित हुनुभएको हो । शुक्रबार सम्पन्न निर्वाचनमा अधिकारीले ४५ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँको निकटतम् प्रतिद्वन्द्वी अञ्जली थापाले ३६ मत प्राप्त गर्नुभयो । अर्का उम्मेद्वार पोष्टराज अधिकारीले २० मत प्राप्त गर्दा अध्यक्षका अर्का आकांक्षी सुरेश श्रेष्ठले ३ मत मात्रै प्राप्त गर्नुभयो । नवनिर्वाचित अध्यक्ष अधिकारीले शनिबार नै पदभार ग्रहण गर्नुभएको छ । महासंघको उपाध्यक्षमा ५५ मत प्राप्त गर्दै ध्रुव अधिकारी निर्वाचित हुनुभएको छ भने गणेश अधिकारी ४९ मतसहित पराजित हुनुभयो । महिला उपाध्यक्षतर्फ भावना रिजाल ५५ मतसहित निर्वाचित हुँदा अर्की आकांक्षी प्रतिक्षा न्यौपाने ४४ मत प्राप्त गर्दै पराजित हुनुभयो ।
महासंघको सचिवमा केशव सुवेदी निर्वाचित हुनुभएको छ । इन्द्रप्रसाद बञ्जारालाई हराउँदै केशव सुवेदी महासंघका सचिवमा निर्वाचित हुनुभएको हो । सुवेदीले ७३ मत प्राप्त गर्दा बञ्जाराले ३३ मत मात्र प्राप्त गर्नुभयो । कोषाध्यक्षमा प्रदीप अधिकारी निर्वाचित हुनुभएको छ । अधिकारीले ५२ मत प्राप्त गर्दै विजयी हुनुहुँदा एमपी शर्माले ५१ मत प्राप्त गर्नुभयो । यस्तै सहसचिवमा शिव प्रसाद चौलागाईं निर्वाचित हुनुभएको छ । सहसचिवमा निर्वाचित चौलागाईले ६५ मत प्राप्त गर्दा अर्का आकांक्षी विश्वराम अधिकारीले ३९ मत मात्र प्राप्त गर्नुभयो । समावेशी सहसचिवमा रुपा गुरुङलाई हराउँदै सन्नु रिजाल निर्वाचित हुनुभएको छ । रिजालले ५८ मत पाउँदा गुरुङले ४० मत मात्र प्राप्त गर्नुभयो । निर्वाचन कार्यक्रम अन्तर्गत कूल १ सय १७ जना मध्ये १ सय ७ जनाले मात्र मतदान गरेका थिए ।
यस्तै जनजाति सदस्यतर्फ सानुमाया गुरुङ ४९ मतसहित, महिला सदस्यमा स्मिता अर्जेल ४८ मतसहित, दलितमा सञ्जीव सुनार ५३ मतसहित, खुला सदस्यमा सरोज पौडेल (६५ मत), रविन ढुंगाना (५९ मत), श्रीराम अर्जुन दहाल (५७ मत), श्यामलाल दुलाल (५३ मत), सुमन दाहाल (५२ मत), अनिल पराजुली (५१) र कृष्णा विष्ट (५० मत) विजयी हुनुभएको छ ।
