स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति छैनः मन्त्री थापा

हेटौंडाः बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति नभएको बताउनुभएको छ । सोमबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालद्वारा आयोजित १ वर्षे एनेस्थेसिया टेक्निसियन तालिमको प्रमाणपत्र वितरण तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री थापाले दक्ष जनशक्ति बिना उपकरण खरिद गरी थन्काएको भन्दै अख्तियारमा उजुरी पर्ने गरेको बताउनुभयो ।

यस्तै एक सय १९ पालिकामा आधारभूत अस्पताल बनिरहेको जानकारी दिनुहुँदै कतिपय पालिकामा दक्ष जनशक्ति नहुँदा ती अस्पतालहरु व्यवस्थित रुपमा संचालन हुन नसकेको उहाँले बताउनुभयो । ७ प्रदेशमध्ये बागमती प्रदेशकै प्रादेशिक अस्पताल उत्कृष्ट रहेकाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत शिक्षण संस्थान सुरु गर्न प्रदेश सरकारले पहल गरिरहेको जानकारी दिनुभयो । जुन प्रदेश सरकारको गौरवको आयोजना भएकाले व्यवस्थित रुपमा संचालन गर्न आवश्यक रहेको उहाँको भनाई छ ।

प्रदेश सरकारले स्वास्थ्य ऐन पास गरिसकेको छ । बागमती प्रदेशमा १३ वटा प्रादेशिक अस्पताल छन् । अन्य प्रादेशिक अस्पताललाई पनि २ सयदेखि ३ सय बेडका स्तरोन्नति गरी त्यहाँ पनि एकेडेमी सुरु गर्ने तयारी मन्त्रालयको रहेको मन्त्री थापाले जानकारी दिनुभयो । साभार(समृद्ध समाज)

Leave a Reply

Your email address will not be published. Required fields are marked *