बागमती,मकवानपुर: अज्ञात समूहकाे गाेली लागेर घाइते भएका मकवानपुरको बकैया गाउँपालिका वडा नं.३ स्थित बुद्ध माविका प्रधानाध्यापक प्रेमबहादुर बाेम्जनकाे उपचारका लागि शिक्षकहरूले आर्थिक सहयाेग गरेका छन ।
मकवानपुरको बागमती गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूबाट सङ्कलित रकम २ लाख ४३ हजार ३ सय ९० रूपैया आज बागमती गाउँपालिका शिक्षक महासंघका अध्यक्ष वसन्त राई सहितकाे टाेलीले प्र.अ. बाेम्जनलाई सहयाेग रकम हस्तान्तरण गरेकाे हाे ।
अध्यक्ष राईकाे संयाेजकत्वमा शिक्षकहरू तिलक बहादुर पाख्रिन, देवराज राना, दुर्ग बहादुर थिङ, दिल बहादुर भाेलन, उद्वव गाैतम, विश्राम सिजाली मगर लगायतकाकाे उपस्थितिमा आज शनिबार प्र.अ. बाेम्जनलाई काठमाडौं स्थित सङ्कलित रकम हस्तान्तरण गरेकाे थियाे ।
बकैया गाउँपालिकाकाे बुद्ध माविमा कार्यरत एवम् बागमती गाउँपालिका वडा न.१ वोटगाँउ निवासी प्रधानाध्यापक बोम्जन माथि सर्लाहीबाट मकवानपुर घरतर्फ आउने क्रममा गत कार्तिक २५ गते अपरान्ह साढे दुई बजेकाे समयमा सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका वडा नं. ६ झप्सीमा आईपुग्दा अज्ञात समूहले गोली प्रहार गरेका थिए । अज्ञात समूहले प्रहार गरेकाे गाेली प्र.अ. बाेम्जनकाे दायाँ गालामा लागेकाे थियाे ।
घाइते बाेम्जनकाे स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार भइरहेकाे अध्यक्ष राईले जानकारी गराउनु भयाे । एक शिक्षकलाई दु:ख पर्दा अर्काे शिक्षकले सहयाेग गर्नु दायित्व हुने भएकाेले बागमती गाउँपालिकाका शिक्षक तथा कर्मचारीहरूले सहयाेग गरे जस्तै अन्य शिक्षकहरूले पनि यस्ताे अवस्थामा सहयाेग गर्नका लागि अध्यक्ष राईले सबैमा अपिल गर्नुभएको छ ।
हालसम्म बोम्जनको स्वास्थ्य उपचारमा करिब ९ लाख रुपैयाँ खर्च भइसकेको र अझै ३ लाख खर्च हुने अनुमान गरिएको राईले बताउनुभयो । बोम्जनको स्वास्थ्य सुधार हुँदै आएको र उपचारका लागि काठमाडौंमै बस्नुपर्ने भएपछि उहाँ आफन्तको घरमा बस्दै आउनुभएको छ । बोम्जनमाथि आक्रमण गर्ने एकजनालाई प्रहरीले घटना भएकै दिन पक्राउ गरेको छ भने २ जना फरार छन् । शिक्षक संघ, संगठनले भने दोषीलाई कारवाही गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।
घटना बारे प्रहरीबाट अनुसन्धान भइरहेकाे घाइतेका आफन्तले जानकारी दिएका छन् ।