आगामी मङ्सिर १६ गते हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा उपनिर्वाचन हुँदैछ । गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाअध्यक्ष ललितबहादुुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि उक्त स्थान खाली रहेको थियो । जुन स्थानका लागि निर्वाचन आयोगले निर्वाचन गराउने तयारी गरिरहेको छ ।
आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । त्यसै मध्येको एक स्थान हेटौँडा नगरपालिका १२ नम्बर वडा पनि हो । मकवानपुरको यही वडामा मात्र निर्वाचन हुने भएकाले दलहरु कसरी जित्ने भन्ने रणनीति र उम्मेदवार छनौटमा लागेका छन् । माओवादीलाई गुुमेको वडा अध्यक्ष फिर्ता गर्ने चुुनौती छ, भने एमाले र काँग्रेसलाई नयाँ वडा थप्ने अवसर रहेको छ । अन्य साना दलहरु पनि निर्वाचनको तयारीमा जुुटिरहेका छन् । जसले गर्दा उपनिर्वाचन रोचक हुने देखिन्छ ।
अहिले माओवादी, एमालेले उम्मेदवारको टुंगो लगाएर चुनावी रणनीति तयार गर्न लागि परेका छन् । काँग्रेसले भने अझै पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन् । माओवादीले रविन प्रधानलाई वडा अध्यक्षको उम्मेदवार बनाउने सर्वसहमत निर्णय रहेको छ । अन्यको आकांक्षा भएपनि प्रधानको नाममा सहमती जुुटेपछि माओवादी चुनावी तयारीमा लागिसकेको छ ।
यस्तै एमालेले पनि राजेश नगरकोटीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । गतस्थानीय तहको निर्वाचनमा पनि उम्मेदवार रहेका नगरकोटी यसपटक पनि सर्वसहमत उम्मेदवार छनौट भएका हुन् । गतनिर्वाचनमा नगरकोटीले तेस्रो स्थान हासिल गरेका थिए । एमाले नगरकोटीलाई विजयी बनाउन १२ नम्बर केन्द्रीत भएको छ ।
काँग्रेसले भने अझै वडा अध्यक्षको उम्मेदवारको टुुंगो लगाउन सकेका छैन् । वडाबाट पाँच जनाको नाम सिफासिर भएपनि जिल्ला पार्टी समितिबाट अन्तिम टुुंगो लगाउन सकेको छैन् । वडाबाट अर्जुन तिवारी, शरण घिसिङ, कुमार पोखरेल, गीता न्यौपाने, सुुर्दशन लामाको जिल्लामा सिफारिस भएको जनाइएको छ । जिल्ला तहका एक नेताका अनुसार तिवारीलाई उम्मेदवार बनाउने तयारी भएको छ । गतनिर्वाचनमा पनि तिवारी नै वडा अध्यक्षको उम्मेदवार थिए । उनि उक्त निर्वाचनमा दोस्रो भएका थिए ।
यसबाहेक राप्रपा र नेकपा एसले पनि वडा अध्यक्षको उम्मेदवार चयनमा लागेका छन् । यो निर्वाचनले मकवानपुरमा दलहरुको पछिल्लो अवस्थालाई पनि चित्रण गर्ने भएकाले विशेष रुपमा हेरिएको छ । अहिलेसम्म निर्वाचनमा दलहरुबीच चुनावी तालमेल वा सहकार्य गर्ने कुनै तयारी भएको पाईदैन् ।
उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्नुपर्नेछ । मङ्सिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने छभने सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ ।
आयोगका अनुसार २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेको स्थानीय तहमा रिक्त रहेको पदमा महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिइएको छ ।
मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छभने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।
मंसिर १६ गते देश भर जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।