‘ह्रस्व दीर्घ’ टिजर रिलिजपछि अन्तर्राष्ट्रिय मागमा बृद्धि, जापानका १४ शहरमा सोल्ड आउट

नेपाल र भारतका चर्चित कलाकारहरूको अभिनय रहेको चलचित्र ‘ह्रस्व दीर्घ’को टिजर सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा यसको माग उल्लेखनीय रूपमा बढेको छ।

नेपालमा आगामी कार्तिक ३० गते प्रदर्शनका लागि तयार भएको यो चलचित्र जापानका प्रमुख १४ शहरहरूमा सोल्ड आउट भइसकेको छ। यी शहरहरूमा टोकियो, नारिता, नागोया, फुकुओका, ओशाका, कोबे, क्योतो, सिजुओका, निगाता, र ओकिनावा प्रमुख छन्। जापानका लागि प्रदर्शन अधिकार बीटीकेएस इन्टरटेन्मेन्टले लिएको छ।

चलचित्रको निर्देशन चन्द्र पन्तले गरेका छन्, जसको यो पहिलो निर्देशन हो। चन्द्र पन्तले भोजपुरी चलचित्रमा निर्देशन अनुभव सँगालिसकेका छन् भने द्वन्द्व निर्देशनमा पनि विशेष पहिचान बनाएका छन्।

‘ह्रस्व दीर्घ’मा दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम र सुनील वर्माको साथै नेपाली कलाकारहरू हरिहर अधिकारी, नीता ढुंगाना, प्रशान्त ताम्राकार, सञ्चिता लुईटेल, विपना थापा, सरोज खनाल, रवीन्द्र झा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ।

चलचित्रको कथा हरिहर अधिकारीले लेखेका हुन् भने पटकथा तथा संवाद प्रतीक पौडेल, चन्द्र पन्त, र हरिहर अधिकारीको लेखनमा आधारित छ। नीता फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन्। छायांकन बलिउडका प्रसिद्ध सिनेमाटोग्राफर कवीरलालले गरेका छन्।

नेपाली, हिन्दी, र तेलुगु तीन भाषामा प्रदर्शनको तयारीमा रहेको ‘ह्रस्व दीर्घ’ले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने अपेक्षा गरिएको छ। चलचित्रको वितरणको जिम्मा व्याङ्कटेस इन्टरटेन्मेन्टले लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *