

बागमती: मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर १ शुक्रबारदेखि टोलस्तरीय नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ । आज शुक्रबार बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
सूर्य माविको खेल मैदानमा भएको उद्घाटन खेलमा गुर्दुम युवा टिमलाई ४-० गोलले हराउँदै गुम्बाटोल युवा टिमले विजयी सुरुवात गरेको छ । गुम्बाटोल युवा टिमका जर्सी नम्बर १० का खेलाडी कान्छामान थिङले खेलको पहिलो हापको ५ औं र १९ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई २-० गोलको अग्रता दिलाएका थिए ।
यस्तै जर्सी नम्बर १४ का खेलाडी फुर्साङ लामाले खेलको ५३ औं र ६३
औं मिनेटमा २ गोल गर्दै ४-० गोलको फराकिलो अग्रता दिलाए । विजयी सँगै गुम्बाटोल युवा टिमले क्वाटरफाइनलमा असोज २१ गते कोपिला युवा क्लब सँग प्रतिस्पर्धा गर्नेछ ।
भोलि असोज १९ गते शनिबार दुई खेल हुनेछ । बिहान ७ बजे कोपिला युवा क्लब “ए” र “बी” बीच र अपरान्ह २ बजे रामपुर युवा टिम र गुम्बाटोल युवा टिम “बी” बीच प्रतिस्पर्धा हुने भएको छ ।
श्रमजीवी युवा मञ्चका अध्यक्ष राज कुमार राईको सभाध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रमुख अतिथी बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, मकवानपुर जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष अरुण बल, वडा नम्बर १ का कार्यबाहक अध्यक्ष हस्त बहादुर थिङ, बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङ, शैक्षिक जागरण मञ्चका अध्यक्ष वीर बहादुर राई, सूर्य माविका प्रअ दिलबहादुर भोलन, मुक्ति लामा, काजिमान भोलन लगायतको आतिथ्यता रहेको थियो ।
नकआउट चरणमा सुरु भएको प्रतियोगिताको फाइनल खेलमा आगामी असोज २४ गते हुनेछ । प्रतियोगितामा १ नम्बर वडा अन्तर्गतका माझगाउँ युवा फुटवल टिम, श्रमजीवी युवा मञ्च ,गुम्बाटोल युवा टिम “ए”, गुम्बाटोल युवा टिम “बी”, बन्जरे युवा टिम, गुर्दुम युवा टिम, हात्तीढुङ्गा युवा टिम, बोटगाउँ युवा टिम, रामपुर युवा टिम, कोपिला युवा क्लब “ए” र कोपिला युवा क्लब “बी” गरी जम्मा एघार टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र र द्वितीय हुने टिमले नगद १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द म्याच, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी छनोट एवम् पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।
